नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको चौथो दिनमा पनि मुख्य एजेन्डा पार्टीको विधान बैठकमा पेश नगरेको भन्दै महासमिति सदस्यले नेतृत्वको आलोचना गरेका छन्।
रामशाहपथस्थित सिंहदरबार अगाडि यगम्बर पार्टी प्यालेसमा मंगलबार बैठक सुरू हुने वित्तिकै महासमिति सदस्यहरुले ‘विधान चाहियो’ भन्दै नेतृत्वविरूद्ध नाराबाजी गरे।
महासमिति सदस्य रहेका तथा पर्यवेक्षकको रुपमा बैठकमा सहभागी कांग्रेसका जिल्ला सभापतिहरुले विधान बिना बैठक चल्न नसक्ने भन्दै नेतृत्वसँग विधान पेश गर्न माग गरेका हुन्।
नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले मञ्चमा पुगेर ‘साथीहरूले विधान माग्नु भएको छ, उपलब्ध गराउनुपर्यो,’ भनेपछि सहमहामन्त्री प्रकाशशरण महतले केसीको हातबाट माइक खोसेपछि केहीबेर तनाव श्रृजना भएको थियो।
‘बैठक चलेको आज चार दिन भयो, विधान आएन। विधान नआइ के छलफल गर्ने भनेर देशभरका सभापतिहरुले पनि भन्नुभयो। फ्लोरबाट पनि विधान चाहियो भनेर नारा लगाउन थाले,’ केसीले सेतोपाटीसँग भने, ‘हो-हल्ला भएपछि बैठक स्थगित गर्ने विधान ल्याउने कुरा भएको थियो। म मञ्चमा गएर त्यो सूचना साथीहरूलाई माइकबाट भन्न खोजेको मात्र के थिएँ, प्रकाशशरणजीले माइक खोस्नुभयो। बोल्न रोक्नुभयो।’
सहमहामन्त्री महतले सहमतिबाट नै पार्टीको विधान तयार गर्न लागिएकोले केही ढिलाइ भएको बताए। बैठकमा विधानका बारेमा बोल्न कोही कसैलाई रोक नलगाएको उनले दाबी गरे।
बैठकस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महतले भने, ‘विधान टुंगो लगाएर छापिएर आउँछ। अनि बैठकमा पेश गरी छलफल गर्छौं।’
स्थगित बैठक दिउँसो २ बजेपछि बस्ने महतले जानकारी दिए।
बैठकमा विधानबारे पर्याप्त छलफल गरिने उनले बताए।
महतकाअनुसार महासमिति बैठक एक/दुई दिनसम्म लम्बिन सक्छ।
आइतबार अपरान्ह बैठकमा पेश गर्ने भनिएको पार्टीको संशोधित विधान मस्यौदा मंगलबार पनि पेश नभएपछि महासमिति बैठक एजेन्डाविहीन छ।
राजनीतिक, आर्थिक, सांगाठानिक र पार्टीको आयव्यवको प्रतिवेदनमाथि छलफल भएर पारित भइसकेको छ।
सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच पदाधिकारी संख्या बढाएर ११ पुर्याउने सहमति भए पनि मनोनित र निर्वाचितमा कुरा मिलेको छैन।