नेकपाका नेता सुरेन्द्र पाण्डेले युनिफिकेशन चर्चको आयोजनामा नेपालमा समिट गरिएको विषयमा पार्टीले माफी मागेर अगाडि जानुपर्ने बताएका छन्।
स्रोतका अनुसार नेकपा स्थायी समिति बैठकमा पाण्डेले हाक जा हान मुनले राखेको धारणाले धेरैलाई आघात तुल्याएको बताएका हुन्।
‘पहिला पहिला हामी गाउँमा जाँदा कहाँ के गरेर आइस्, कसले छोएको खाइस्, भनेर सुनपानी छर्कने चलन थियो’, पाण्डेले बैठकमा भने, ‘मुनको विषयमा पनि भुलचुक माफी भनेर सुनपानी छर्केने बेला भएको छ।’ पाण्डेले इसाइ धर्मको कार्यक्रममा माधव नेपालको सहभागिताले आगामी चुनाव समेत प्रभावित हुने बताए।
‘माधव नेपाल कमरेडलाई वर्षौ पहिलाको आमाको किरिया नगरेको दोष पनि अब त… ए, पहिला नै क्रिष्चियन भएकाले रहेछ भन्ने अवस्था आउँछ’, पाण्डेले भने, ‘गलत भयो भनेर खण्डन गरौं।’
पाण्डेले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा नेपालको भुराजनीतिलाई ख्याल नगरिएको भन्दै आलोचना गरे। ‘हाम्रो विदेश सम्बन्ध ठिक भन्ने कुरा रखिएको छ’, पाण्डेले भने, ‘भारतले कि आफैंले बनाएको, कि नेपालले बनाएको बिजुली किन्छु भनेर कानुन बनाएको छ। अनि हामी बिजुली उत्पादन गर्ने भन्छौँ। बजार नभएपछि लगानी कसरी आउँछ।’
‘राजनीतिक परिवर्तनका सिलसिलामा कतिपय अवस्थामा हामीले समर्थन खोज्यौँ। उतिबेला सहयोग पनि लिइयो’, पाण्डेले भने, ‘अब नव निर्माणको क्षेत्रमा, राष्ट्र निर्माणको क्षेत्रमा उनीहरुको सरोकार के हुन्छ भन्ने ठीक ढंगले नठम्याए हामी अगाडि जान सक्दैनौँ। प्रतिवेदनमा त्यो खुट्याएको देखिएन। देश अहिले हल न चल भएको कारण त्यो हो।’
उनले प्रतिवेदनमा नलेखिए पनि ब्याख्यामा भए पनि जियो पोलिटिकल कारण उल्लेख गर्नु उचित हुने बताए।
अध्यद्वयले प्रस्तुत गरेको प्रतिवेदनमा विगतमा असन्तुलित भूराजनीति नयाँ सरकार बनेपछि सन्तुलित भएको दाबी गरिएको छ।
‘बजेट बनाउँदा स्रोत र प्राथमिकता किटान भएन’, पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘दुकानको कोट बेचेको जसरी बिजुली बेच्ने त होइन। राज्यले मात्र किन्छ। त्यो समस्या हल नभएसम्म बिजुल उत्पादन बढ्छ त? यहाँ घोकेर मात्र त हुन्न।’
उनले मुलुक दलाल राजनीतिका कारण समस्यामा परेको उल्लेख गर्दै पूँजिवादी क्रान्तीको विषय सहि नभएको बताए।
‘फेरि पनि पूजिँवादी क्रान्ती भनेको क्लियर भएन’, पाण्डेले भने, ‘दलाल राजनीति भएको छ। कुन नेतालाई कहाँ, कसलाइ सर्वोच्चको न्यायाधीश बनाउनेदेखि कसलाई अख्तिया हाकिम, पुलिसको हाकिम बनाउने भनेर सेटिङमा काम भएको छ। हट सिटमा राजनीतिज्ञ छौं। अनि हामी दिगम्बर झाको नियुक्ती गरेर दलाल पूजिँवाद अन्त्यको कुरा गर्छौँ? के हो दलाल पूजिँवाद? हामी संलग्न छौँ कि छैनौँ? सालनाल जोडिएको छ कि छैन हेरौँ र अन्त्य भयो भएन हेरौँ।’
पाण्डेले बैठकमा राजनीतिक प्रतिवेदनमा उल्लेख कोर अफ लिडरसिप भन्ने विषयमा समेत असन्तुष्टि व्यक्त गरेको स्रोतले बतायो।
‘कोर अफ द लिडरसिप भनेको के?’, पाण्डेले बैठमा भने, ‘पार्टीमा केन्द्रीय कमिटीको मर्यादा तोक्न नसकेकाले अल्फाबेटिकल अर्डरमा राखिएको छ। अनि आफूले आफूलाई कोर अफ द लिडरसिप भनेर घोषणा गर्ने?’
उनले प्रचण्डपथ छाडेर नारायणकाजी श्रेष्ठसँग विगतमा माओवादीले एकता गरेको उदाहरण दिए।
‘अनि अहिले हामीले आफूले आफैंलाई कोर भन्न मिल्छ। एउटा नियुक्तीमा समेत पक्षधरता राख्ने नेतृत्व कोर हुन्छ?’, पाण्डेले बैठकमा प्रश्न गर्दै भने, ‘कि त चुनाव लडेर आउनु पर्यो। यस विषयमा छलफल गरौं।’
उनले पार्टी एकताको समस्या समाधानका लागि कार्दयल बनाउन माग गरे।