नेपाली कांग्रेसका झन्डै आधा महासमिति सदस्य हिन्दु राष्ट्रको पक्षमा उभिएका छन्। महासमिति बैठकस्थल यगम्बर पार्टी प्यालेसमा चार दिनसम्म चलेको हस्ताक्षर अभियानमा उनीहरूले पार्टीले हिन्दु राष्ट्रलाई विधानमा राखेर संविधानसमेत राख्न नेतृत्व लिन माग गरेका हुन्।
बैठकमा उपस्थित ७ सय १५ जना महासमिति सदस्यले धर्मनिरपेक्षता हटाएर देशलाई हिन्दु राष्ट्र कायम गर्न पार्टी नेतृत्वलाई दबाब हस्ताक्षर गरेका छन्।
कांग्रेसले आफ्ना सभापति सुशील कोइराला प्रधामन्त्री हुँदा संविधान निर्माण भएकोमा गर्व गर्दै आएको छ। तर सोही संविधानमा उल्लेखित धर्मनिरपेक्षाबारे भने देशको मूल कानुनमा बाझिने गरी हिन्दु राष्ट्र कायम गर्न माग गरिएको हो।
धर्मनिरपेक्षाभन्दा धार्मिक स्वतन्त्रता भएको देशको रूपमा संविधानमा नै ब्याख्या गरिनु पर्ने महासमिति सदस्य तथा हिन्दु राष्ट्र निर्माण अभियानका लागि हस्ताक्षरका नेतृत्वकर्ता राजुराज जोशीले बताए।
‘२०६२/०६३ को जनआन्दोलनको एजेन्डा धर्मनिरपेक्षता थिएन। नेताहरूले त्यसै धर्मनिरपेक्षता घुसाइदिए,’ जोशीले सेतोपाटीसँग भने, ‘कांग्रेसकै नेतृत्वमा ०७२ मा जारी भएको संविधानमा पनि धर्मनिरपेक्षता लेखियो। त्यसबेला धर्मनिरपेक्षता सम्झौतामा लेखियो, हाम्रो उपलब्धि होइन।’
पार्टीको झण्डामा अंकित चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भएको उल्लेख गर्दै जोशीले भने, ‘पार्टीको झण्डामै धार्मिक स्वतन्त्राको प्रतीक छ। कहाँबाट धर्म निरपेक्षता आयो? झण्डामा भएको ताराको अर्थ स्वतन्त्रता हो, निरपेक्षता होइन, गलत ब्याख्या नगरौं।’
हिन्दु राष्ट्रका लागि कांग्रेसले आधिकारीक निर्णय गरेर हस्ताक्षर अभियान चलाएको भने होइन। जनताको मागलाई एजेन्डा बनाउन पार्टीलाई दबाब दिन महासमिति सदस्य, पार्टी सभापतिहरू र समर्थकको हस्ताक्षर संकलन गरेको जोशीले बताए।
‘शंकर भण्डारी, पुष्पा भुसाललगायत आठ जना केन्द्रीय सदस्य, सात सयभन्दा बढी महासमिति सदस्य, एक हजार आठ सय समर्थक, ३० जिल्ला सभापतिले गर्नुभएको हस्ताक्षर आज पार्टी सभापति वा महासमिति बैठक सचिवालयमा बुझाउँछौं,’ उनले भने, ‘बैठक लम्बिएएको हुनाले हस्ताक्षर गर्ने समयावधि पनि बढाएका थियौं।’
दिवंगत नेता खुमबहादुर खड्काले कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिउनुपर्ने अभियान चलाएका थिए। पहिला खड्का समूहमा रहेका केन्द्रीय तथा महासमिति सदस्य हिन्दु राष्ट्र हुनु पर्नेमा छन्।
हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताउने गरेका महामन्त्री शशांक कोइरालाले मौखिक सहमति जनाए पनि हस्ताक्षर भने गरेका छैनन्। ‘धर्मनिरपेक्षताको ठाउँमा हिन्दु राष्ट्र कायम गर्ने एजेन्डा बलियो हुँदै आएको छ। कांग्रेसमात्रै होइन अरु राजनीतिक आस्थामा रहेका साथीहरु पनि यही चाहनुहुन्छ भन्ने हो,’ जोशीले भने, ‘पार्टीले एजेन्डा उठाउँछ या यसै छाड्छ हामी केही भन्न सक्दैनौं।’
हस्ताक्षर अभियानको विरोध र समर्थन गर्नेहरू पार्टीभित्रै रहेको उनले बताए। क्रिश्चियन तथा मुश्लिम धर्मावलम्बी कांग्रेसका नेताहरुले भने धर्मनिरपेक्षताबाट पार्टी पछि हट्न नहुनेमा जोड दिने गरेका छन्। केही मुश्लिम धर्म मान्ने नेताहरुको भने हिन्दु राष्ट्र कामय गर्नेमा समर्थन रहेको जोशी बताउँछन्।
महासमिति बैठकमा बोल्ने क्रममा केही सदस्यले हिन्दु राष्ट्रका लागि पार्टीले नेतृत्व लिनुपर्ने बताए पनि केन्द्रीय सदस्य, पदाधिकारी कसैले पनि यसबारे मुख खोलेका छैनन्। उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक दस्तावेज निर्माण समितिले तयार पारेको राजनीतिक दस्तावेजमा पनि नेपाल धर्मनिरपेक्ष देश रहेको उल्लेख छ भने संविधानअनुसार नै अघि बढ्ने लेखिएको छ।