प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यापार व्यवसायबाट बचेको पुँजीलाई कृषिको आधुनिकीकरणमा लगानी सुरू गर्न व्यवसायीलाई आग्रह गरेका छन्।
उनले नेपालको वित्तीय राजधानी बुटवल भैरहवा कोरिडर बनाउन सकिने भन्दै उनले त्यसका लागि व्यापारीहरू आफैं लागि पर्न आग्रह गरेका हुन्।
रुपन्देही व्यापार संघद्वारा आयोजित लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मुलुकभित्रको उद्यमशीलतालाई जोड्न नसके मेला महोत्सवहरू राष्ट्रिय बचतलाई बाहिर पुर्याउने माध्यम मात्र बन्ने बताए।
उनले व्यवसाय सञ्चालन गरेर नाफा कमाउने मात्र होइन उद्यमशील बन्न पनि आग्रह गरे।
मुख्यमन्त्री पोखरेलले एकै वर्षमा अलग/अलग संस्थाले धेरै मेला महोत्सव गर्नुभन्दा मिलेर मेला महोत्सव गर्दा प्रभावकारी मात्र बढ्ने नभई पुँजी विदेशिने क्रमसमेत कम हुने बताए ।
उनले सरकारले लिएको समृद्धिको सपनालाई जसरी पनि साकार पार्ने गरी प्रदेश सरकार लागेको बताउँदै अहिले नागरिकमा बढेको अविश्वास र निराशालाई छिट्टै नै विश्वास बदल्ने गरी सरकारले काम गरिरहेको बताए।
‘नेताले देश बनाउँदैन,आफू मात्रै बन्छन् भन्ने आरोप छ। अब त्यसलाई तोडिने छ’, उनले भने.
४० मिनेट भाषण गरेका मुख्यमन्त्री शंकर पोखरेलले अधिकांश समय सञ्चार क्षेत्रको आलोचनामा खर्च गरे।
‘मैले समृद्ध प्रदेशको कुरा गर्दा सञ्चार माध्यम र सामाजिक सञ्जालमा समर्थनभन्दा आलोचना, निराशा, अविश्वास र कुण्ठा ज्यादा देख्छु, यो अहिलेको होइन पुरानै प्रवृत्ति हो’, उनले भने।
मुख्यमन्त्री पोखरेलले सरकार आवधिक योजना निर्माण र कानुन निर्माणमा रहेको भन्दै उद्योगी एवं व्यवसायीलाई कानुन निर्माणमा साथ दिन समेत आग्रह गरे ।
सरकार सही बाटोमा हिँडेको दाबी गर्दै उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको बताए।
अर्को वर्षदेखि चीनबाट लुम्बिनीसम्म चल्ने रेलको ट्रयाक खोलिने बताए ।