नेपाली कांग्रेसले विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र सात सहमहामन्त्री राख्ने गरी सहमति गरेको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार भएको सहमतिअनुसार कोषाध्यक्षबाहेक सबै पदाधिकारी अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने छ। कोषाध्यक्ष पनि निर्वाचित केन्द्रीय सदस्य मध्येबाट सभापतिको प्रस्तावमा केन्द्रीय समितिले छान्ने छ।
शीर्ष नेताहरूबीच भएको यो सहमतिलाई केन्द्रीय कार्यसमितिले निर्णय गर्न बाँकी रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले सेतोपाटीलाई बताए। विधान संशोधन मस्यौदाबारे छलफल गरी निर्णय लिन दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक डाकिएको छ।
महिला, मधेसी, आदिवासी-जनजाति, मुश्लिम, दलित, खस आर्य/अल्पसंख्यक र अपाङ्गबाट एक-एक जना प्रतिनिधत्व हुने गरि ७ सहमहामन्त्री राख्ने नेताहरुबीच सहमति छ। कांग्रेसमा अहिले सभापतिले मनोनित गरेका एक जना सहमहामन्त्री छन्।
यसअघि सात जना रहेको कांग्रेस पदाधिकारी संख्या अब १३ पुग्ने भएको छ। यसअघि नेताहरुबीच आठ सदस्यीय पदाधिकारी राख्ने सहमति भए पनि पदाधिकारीमा समावेशीता नभएको भन्दै केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वको बिरोध भएपछि छलफल लम्बिएको थियो।
४ दिनका लागि तोकिएको महासमिति बैठक पदाधिकारी संख्या, सभापतिको अधिकारजस्ता बिषयमा विवाद हुँदा लम्बिएर आज सातौं दिनमा आइपुगेको छ। बिहीबार डेढ घण्टा बन्द सत्र चलेर स्थगित भएको बैठक केहीबेर अघिदेखि सुरु भएको छ। बन्द सत्रमा महासमिति सदस्यहरुले धारणा राखिरहेका छन्।
'खाना खाने समयमा केन्द्रीय कार्यसमिति बैठक बस्छ। शीर्ष नेताहरुबीच भएको सहमति केन्द्रीय कार्यसमितिमा छलफलपछि पारित गर्ने र विधान छाप्न पठाउने तयारी छ,' केन्द्रीय सदस्य पौडेलले भने।
महासमिति बैठक शनिबारसम्म चल्ने कांग्रेसले जनाएको छ।