सानेपास्थित नेपाली कांग्रेस कार्यालय छेउको चिया पसलमा एक पाका उमेरका व्यक्ति भेटिए।
सेता दौरा-सुरुवाल। सुकिलो कोट। शिरमा कालो भादगाउँले टोपी।
उनी हुन् ७४ वर्षीय विपीन कोइराला। घर सिन्धुली। कांग्रेस महासमिति सदस्य।
उनको परिचय यतिमा सीमित हुन्न।
कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सभापति हुन्। २०२७ सालमा कांग्रेस पार्टी सभापति कृष्णप्रसाद भट्टराईको पहलमा नेविसंघ गठन भएको थियो।
नेविसंघका पहिलो सभापति भए पनि उनी पार्टी नेतृत्वमा पछाडि परे। उनीभन्दा पछि नेविसंघ सभापति सम्हालेका शेरबहादुर देउवा अहिले पार्टी सभापति छन्।
नेविसंघका सभापति र २९ वर्षसम्म कांग्रेस सिन्धुलीका जिल्ला सभापति भएका कोइराला अहिले महासमिति सदस्य छन्। एक साताअघि महासमिति बैठकमा भाग लिन काठमाडौं आएका थिए। चार दिनका लागि तय भएको बैठक पदाधिकारी संख्या र निर्वाचन प्रणाली विवादले लम्बिएपछि उनी थकित छन्।
पार्टीमा गुट, उपगुट मौलाएकोप्रति कोइराला खुसी छैनन्। सभापति देउवाले पार्टी गतिलोसँग हाँक्न नसकेकोमा उत्तिकै रुष्ट पनि देखिए।
‘मलाई खुसी छ, नेविसंघकै साथी शेरबहादुरजी नेतृत्वमा हुनुहुन्छ। तर आत्मग्लानी पनि छ, संघकै साथीको हातमा पार्टी नेतृत्व गएपछि नौटंकी भइरहेको छ,’ कुराकानीको सुरुमै कोइरालाले असन्तुष्टि जनाए।
पार्टीको संघीय विधान मस्यौदा तयार नपारिकन महासमिति तोकेर सभापति देउवाले असक्षमता देखाएको उनको भनाइ छ।
‘विधान तयार नपारी सात दिनदेखि के तमासा देखाइराखेको हो? यस्तो हुँदा बाहिर के सन्देश जान्छ?,’ उनले आक्रोश पोखे।
विधानमा सहमति जुटाउन नसक्दा पार्टी कार्यकर्ता र जनतामा कांग्रेसले नेतृत्व लिन सक्दैन भन्ने गलत सन्देश जानेमा उनी चिन्तित छन्।
‘गाउँमा कम्युनिष्ट सत्ता छ। प्रदेशमा कम्युनिष्ट नै। केन्द्रमा पनि कम्युनिष्ट नै,’ सुरुप्प चिया चुस्की लिँदै कोइरालाले भने, ‘अहिले कांग्रेसले हार व्यहोरेको छ। ऊर्जा, उत्साह, उमंग बोकेर जानुपर्नेमा महासमिति बैठक नै अनिर्णयको बन्दी बनाइदिने? चाँडो निकास निकाल्नुपर्यो। कति दिन झुलिरहने?’
पार्टी हाँक्न नसक्ने, चुनावमा हारबारे समीक्षा नगर्ने, कारण पत्ता नलगाउने र आफ्नै विधान कस्तो बनाउने भन्नेसमेत टुंगो लगाउन नसक्ने नेतृत्व असक्षम भएको उनले बताए।
‘यो त नेतृत्व असक्षम भएको हो। मलाई पीडा भइरहेको छ, मेरा समकालीनहरू नेतृत्वमा हुँदा पार्टीको यस्तो दुर्दशा भयो,’ कोइरालाले भने। सभापति देउवाको हातमा नेतृत्व गएपछि पार्टी उक्सिनुको साटो झन् खस्किएको उनको भनाइ छ।
‘बिपी, गणेशमान, किसुनजी, गिरिजाबाबुले बनाएको पार्टी सुशील सभापति हुँदासमेत राम्रै थियो,’ उनले भने, 'अहिले त नाटक नै मञ्चन भइरहेको छ।'
त्यस्तै बैठकमा सहभागी हुन आएका पार्टी महासमिति सदस्यलाई दुई छाक खाना, आवासलगायत व्यवस्थापन नगरी एक सातासम्म राखिएकोमा उनले दुखेसो पोखे।
‘यस्तो जाडो छ। साथीहरूको खाने-बस्नेको टुंगो छैन,’ उनले भने, ‘अरू साथीहरू धमाधम घर हिँड्न थालिसके। केन्द्रीय समितिमा अझै विधान पेश भएको छैन। कहिले छलफल गर्ने, कहिले छाप्ने, कहिले पारित गर्ने?’
आफ्ना समकालीन नेताहरू देउवा, रामचन्द्र पौडेललगायतलाई के-कस्तो पदमा राख्दा उपयुक्त हुन्छ, त्यसैअनुसार विधान तयार गर्न आग्रह गरेको उनले बताए।
‘मैले नेताहरूलाई भनिदिएको छु, तपाईंहरूलाई के पद सिर्जना गर्दा राम्रो हुन्छ, त्यस्तो ड्राफ्ट गरेर ल्याउनू। यो तमासा नगरी चाँडै ल्याउनुस् भनेको। हिजो पनि छैन। आज पनि छैन। विधान नै दिँदैनन्,’ उनले भने।
विधानमा राख्नुपर्ने विवादित बुँदाबारे महासमिति बैठकमै छलफल गराउन सकिने भए पनि नेताहरूले ढिलाइ गरेको उनले बताए।
पार्टी नेतृत्व असक्षम भएकोमा चिन्ता लागेको भए पनि तत्काल फेर्न भने नहुने उनले तर्क गरे।
‘विशेष महाधिवेशनतिर नलागौं। मातृकाप्रसाद कोइरालालाई निकाल्नेबेला एकपटक विशेष महाधिवेशन भएको थियो। त्यो अहिले सम्भव छैन,’ उनले भने, ‘विशेष महाधिवेशन माग गर्न एक चौथाइ सदस्य भए पुग्छ। पास गर्न त दुई-तिहाइ चाहिन्छ। त्यतिका मान्छे अहिल्यै जुटाउन सकिँदैन।’
विशेष महाधिवेशनतिर लागेर पार्टीमा थप भाँडभैलो मच्चाउन नहुने उनको भनाइ छ। एक वर्षपछि १४ औं महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिए।
कोइराला नेविसंघ सभापति हुँदा रामचन्द्र पौडेल नेविसंघ केन्द्रीय सदस्य थिए। कोइरालापछि २०२८ सालमा देउवाले सम्हालेका हुन्।
कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने र कोषाध्यक्षसहित प्रवक्ता भने मनोनितबाट आउने शिर्ष नेताबीच सहमति भएको छ। तर केन्द्रीय कार्यसमितिबाट पारित नहुँदा बैठक लम्बिएको छ।