नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पदाधिकारी संख्या बढाएर १४ पुर्याउने निर्णय गरेको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति शेरबहादुर देउवाले राखेको पदाधिकारी संख्या बढाउने प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मतले पारित भएको हो।
अब कांग्रेसमा एक सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री अधिवेशनबाट निर्वाचित हुनुपर्छ। एक जना कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिको प्रस्तावमा केन्द्रीय समितिले छान्नेछ।
‘पदाधिकारी १४ सदस्यीय हुन्छ। आठ जना सहमहामन्त्री हुन्छन्। केन्द्रीय समितिले गरेको निर्णय अब हेरफेर नहोला,’ विधान मस्यौदा शंशोधन समितिका प्रवक्ता तथा केन्द्रीय सदस्य रमेश लेखकले सेतोपाटीसँग भने, ‘शनिबार महासमिति बैठकमा यो विधान पेश गर्छौं।’
१३ औं महाधिवेशनमा एक सभापति, एक महामन्त्री र कोषाध्यक्ष अधिवेशनबाट निर्वाचित भएका थिए। दुई उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र प्रवक्ता मनोनित गरिएको थियो।
अब कोषाध्यक्ष भने मनोनित गरिने भएको छ। साथै प्रवक्ता पनि सभापतिले मनोनित गर्ने छन्।
केन्द्रीय समितिले पारित गरेको विधान छपाइका लागि प्रेसमा पठाउने तयारी गरेको लेखकले बताए। विधान छाप्न कम्तिमा ६ घण्टा लाग्छ।
शनिबार हुने महासमिति बैठकमा विधानको प्रति अध्ययन गर्न महासमिति सदस्यलाई दिनुपर्ने भएकोले हतारमा विधान छाप्न लागिएको हो। विधानको कभर यसअघि नै छपाइसकिएको छ।
महासमिति बैठक चलेको ७ औं दिन शुक्रबार कांग्रेसले विधानमा सहमति जुटाएको हो। विधानमा सहमति खोज्न दिनहुँ सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पक्षबीच बैठक हुने गरेको थियो।
कांग्रेसले केन्द्रीय कार्यसमिति संख्या पनि बढाउने भएको छ। ८५ बाट बढाएर १७१ सदस्यीय पुर्याउने निर्णय भएको हो। विधान मस्यौदा समितिले १४१ सदस्यीय कार्यसमिति बनाउन सुझाव दिएको थियो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर विधान मस्यौदा संशोधन समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले मंसीर ९ मा प्रस्तुत गरेको संशोधित विधान मस्यौदा शुक्रबार साँझ बसेकोको केन्द्रीय समितिले पारित गरेको र महामन्त्री खड्काले शनिबार महासमितिमा पेश गर्ने उल्लेख छ।
यसअघि शुक्रबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १ सभापति, २ उपसभापति, २ महामन्त्री र ७ सहमहामन्त्री अधिवेशनबाट निर्वाचित र १ कोषाध्यक्ष मनोनित गर्ने सहमति गरेपनि केन्द्रीय समितिले आठ सहमहामन्त्री राख्ने निर्णय गरेको हो।