मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा क्रियाशिल विद्यार्थी संगठन र स्ववियूले विश्वविद्यालय प्रशासनसँग ११ बुँदे माग राख्दै आन्दोलन सुरु गरेको छ ।
विधि र प्रक्रियाभन्दा बाहिर गएर गरिएका नियुक्ती खारेजी गरिनुपर्ने, यसअघिका सम्झौता कार्यान्वयन हुनुपर्ने, अपांगता भएका र द्वन्द्वपीडित विद्यार्थीहरुलाई एमबिए, विविएस र सेमी प्राविधिक विषयमा निःशुल्क छात्रवृत्तिको व्यवस्थापन गर्नुपर्ने, हाइड्रोपावर इन्जिनियरिङलाई लोकसेवा तथा विभिन्न आयोगमा परीक्षा दिने व्यवस्थाको सुनिश्चितता गर्नुपर्नेलगायतका माग संयुक्त विद्यार्थी संगठन तथा स्ववियूले माग राखेका छन् ।
यस्तै सेमेष्टर प्रर्णालीको मर्म अनुसार कायम गर्दै परीक्षा र नतिजा समयमै दिनुपर्ने, मानवीकी तथा सामाजिक शास्त्र संकायअन्र्तगत अन्तर्राष्ट्रिय सम्वन्ध तथा कुटनीति विभाग र इन्जिनियरिङ संकायमा विषयगत प्रध्यापकहरुको व्यवस्था गर्नुपर्ने, प्रत्येक वर्ष भर्ना शुल्कमा बढेको १० प्रतिशत शुल्क खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
हाइड्रोपावर इन्जिनियरिङ र सिभिल इन्जिनियरिङमा थप गरिएका ४८ जना विद्यार्थीलाई इन्जिनियरिङ काउन्सिलमा दर्ता गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, १० वटा आंगिक क्याम्पसहरुमा भएको अन्योलतालाई तत्काल हटाउनुपर्ने, तोकिएकै मितिमा स्ववियू निर्वाचन हुनुपर्नेलगायतका मागहरु राखेका छन् ।
शान्तिपूर्ण तरिकाले विद्यार्थीहरुले जायज मागहरु राख्दा उपकुलपतिले आफूहरुलाई प्रहरी लगाएर हिरासतमा राखेको नेविसंघका नेता विवेक आचार्यले बताए ।