नौ दिनअघि काठमाडौंको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन हुँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुई ध्रुवजस्तै थिए।
आफ्नो पार्टीलाई कांग्रेसमा गाभेर उपसभापति बनेका विजयकुमार गच्छदारले उद्घाटन समारोहमा मन्तव्य दिँदै उनीहरूलाई मिल्न आग्रह गरे।
पार्टीभित्रै आ-आफ्ना गुट चलाएका दुवै नेतालाई गच्छदारले हात मिलाउन अनुरोध गरे। उनीहरूले वास्ता गरेनन्। गच्छदारले फेरि अनुरोध गरे। निकै जोड गरेपछि अर्का उपसभापति विमलेन्द्र निधि उठेर देउवाको हात समाए र पौडेलको हातमा राखिदिए। त्यसपछि देउवा र पौडेलले हात उठाए। कार्यकर्ताले हुटिङ लगाए, ताली बजाए।
मन नमिलेका दुई नेताबीच हात मिलानपछि महासमिति बैठक सुरू भयो।
आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा समापन समारोह हुँदा भने परिस्थिति फेरिइसकेको थियो।
महासमितिले कांग्रेसमा पदाधिकारी संख्या बढाएर १४ पुर्यायो। कोषाध्यक्षबाहेक अरू पदमा अधिवेशनबाटै चुनिएर आउनुपर्ने विधान सहमतिबाट पास भयो। कांग्रेसले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति बढाएर १७१ सदस्यीय बनायो। समावेशी विधान बनाएको कांग्रेसले सहमहामन्त्रीको संख्या आठ पुर्यायो।
यति मात्र हैन, नौ दिने रस्साकस्सीले सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको झगडा परालको आगो सावित भयो।
पार्टीभित्र देउवा इतर गुटकी सुजाता कोइरालाले सुरूमै सभापति देउवाको प्रशंसामा दुई चार शब्द खर्चिइन्।
‘शेरबहादुरजीले चुनाव गराउनुभयो। धेरै चुनौती थियो। मानिसहरु चुनाव हुँदैन भन्दै थिए। कांग्रेस हार्छ भन्ने थाहा थियो। प्रजातन्त्रलाई बचाउन पार्टी हार्छ, देश हार्न हुन्न। हाम्रो मनोबल टुट्न हुन्न,' उनले भनिन् 'शेरबहादुरजीले पार्टी विधान बनाएर पनि राम्रो गर्नुभयो। राम्रोलाई राम्रो भन्न नडराऔं।’
महासमिति बैठकले गुटलाई भन्दा एकतालाई बलियो बनाएको दाबी कोइरालाको छ।
‘विपक्षीले हामीलाई हेपे, तल्लो स्तरमा झरेर आलोचना गर्दा हामीलाई लाज भएको छ,’ उनले भनिन्, ‘हाम्रो एकताले विपक्षीलाई परास्त गर्छ।’
सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता पौडेलको बोल्ने पालो आयो। उद्घाटन समारोहमा देउवासँग हात मिलाउन पनि दकस मानेका उनले ठट्यौलो पारामा भाषण सुरू गरे।
‘कतिपयले महासमिति बैठक भाँडेर यही बेला हामी दुवै (देउवा र पौडेल) लाई एकै खाल्डोमा हाल्ने सोचेका थिए। विधान बनेपछि हराए,’ पौडेलले मुसुमुसु हाँस्दै भने, ‘विश्वकै नमूना विधान हामीले बनायौं। तराई, पहाड, हिमालमा गएर गर्वसाथ यस्तो विधान बनायौं भन्ने बेला आएको छ।’
कर्मशील कांग्रेस बनाउन अब योग्यताको प्रदर्शन गर्ने उनले बताए।
‘साथीहरू लुरेलारे कांग्रेस होइन, क्षमतावान, कर्मशील कांग्रेस बनाउनुपर्छ,’ उनले भने, ‘अब योग्यता प्रदर्शन गर्छौं। बलियो संगठन बनाउँछौं।’
कार्ययोजना बनाएर संगठन विस्तार गर्ने हो भने कम्युनिष्टले कांग्रेसलाई हराउन नसक्ने पौडेलको दावी छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आश्वासन दिएर जनता भुलाएको तर काम केही नगरेको भन्दै पौडेलले सरकारको पनि आलोचना गरे।
सभापति देउवाले त ठट्टामा पौडेललाई पनि उछिने।
'पार्टी र रामचन्द्र पौडेलको तर्फबाट धन्यवाद,' उनले यसो भनिसक्न पाएका थिएनन् बैठक परिसर पार्टी कार्यालयमा हाँसो गुञ्जियो।
देउवाले पौडेलसँग आफ्नो ‘इमोसनल एट्याचमेन्ट’ रहेको बताउँदा कार्यकर्ता चनाखो भए।
'रामचन्द्रजीसँग इमोसनल अट्याचमेन्ट छ। डिप लभ गर्ने केटाकेटीमा जस्तो अट्याचमेन्ट हुन्छ, त्यस्तै हाम्रो पनि छ,' उनले भने। त्यसपछि उनी आफैं हाँसे। फेरि हाँसो चल्यो।
आफ्नो र पौडेलबीचको सम्बन्धले झगडा गराइराख्ने तत्वलाई परास्त गरेको उनले बताए।
‘प्रेसमा कांग्रेसलाई नचिनेकाहरूले गरेका हल्ला मेरो र पौडेलजीको सम्बन्धले असत्य सावित गरिदियो,’ देउवा-पौडेलबीच बोलचाल पनि छैन भन्ने खबरप्रति लक्षित गर्दै देउवाले भने, ‘कांग्रेसको एकता नचाहने तथा झगडा गराइराख्ने तत्वहरू आज परास्त भए।’
बैठक टुंग्याउनुअघि देउवाले ठट्टा गरे, ‘ढिलो भइसक्यो, रामचन्द्रजीलाई जाडो पनि भइसक्या होला।’
महासमिति बैठकमा एक हजार सात सय जना उपस्थित थिए। बोल्न नाम टिपाएकामध्ये केहीले मञ्च पाएनन्। नुवाकोट सभापति जगदीशनरसिंह केसीले नाम टिपाए पनि बोल्न समय नदिइएको गुनासो गरे। विधानविना बैठक चल्न नदिने अडान लिएका केसी र सहमहामन्त्री प्रकाशशरण महतबीच बैठकका बेला माइक खोसाखोस भएको थियो।