महासमिति बैठक अवधिभर मीठो खाना खुवाउन नसकेकोमा ‘माफी मागेका’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहानै जिल्ला सभापतिहरुलाई निवासमै निम्ता गरे।
नौ दिन चलेको बैठक आइतबार समापन गर्दै देउवाले ‘चिसो (जाडो) मा राम्रो खाना खान पनि पाउनुभएन। गल्ती भएको भए म माफी चाहन्छु’ भनेका थिए।
‘बेलुकी केही ख्वाउँ भने पनि समय पाएको थिइनँ,’ व्यवस्थापकीय पक्षमा कमजोरी भएको भए माफी दिन आग्रह गर्दै देउवाले कार्यकर्ताहरूलाई भने।
साँझ माफी मागेका देउवाले झिसमिसे उज्यालोमै महासमिति सदस्यसमेत रहेका जिल्ला सभापतिलाई बुढानिलकण्ठस्थित निवास बोलाए।
निम्तो स्वीकार्दै ४० जिल्ला सभापति देउवा निवास पुगे।
देउवाले जिल्ला सभापतिलाई मात्र होइन, बरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि चियापानमा बोलाएका थिए। सोमबार बिहान डेढ घन्टा चलेको चियापानमा सभापति र बरिष्ठ नेता एकै स्वरमा प्रस्तुत भए।
महासमिति बैठकलाई समापन गर्दै देउवा र पौडेलले एकताको सन्देश दिएका थिए।
देउवा र पौडेलले एकतालाई थप प्रगाढ बढाउन चियापान कार्यक्रमलाई पनि भरपुर उपयोग गरे।
‘पार्टीको उत्कृष्ट विधान पारित भएको छ, अब एक भएर सदस्यता विस्तारमा लागौं,’ देउवाले जिल्ला सभापतिहरूलाई भने,‘नसुतिकन संगठन बिस्तारमा लागौं। गाउँगाउँ जाऔं। संगठन विस्तार गर्न म पनि गाउँ घुम्छु, तपाईंहरू पनि खट्नुहोस्।’
अर्को चुनावमा जसरी पनि कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी संगठन विस्तारमा लाग्न सभापति देउवाले जिल्ला सभापतिलाई निर्देशन दिए।
‘पार्टी अब पूर्ण रूपमा एक भयो, अर्को चुनावमा हामी पहिलो हुनुपर्छ। त्यहीअनुसार संगठन बिस्तार गरौं,’ देउवाले भने।
महासमिति बैठक उद्घाटनका दिन मंसीर २९ को साँझ पनि देउवाले महासमिति सदस्यहरुलाई खाना खुवाएका थिए।
देउवाले जिल्ला सभापतिलाई दिएको निर्देशन सुनिरहेका बरिष्ठ नेता पौडेलले हिजोका दिनमा भएका गुटगट तीतामीठा कुरा छाडेर संगठन विस्तार गर्न आग्रह गरे।
‘पार्टीमा सबै मिलेर जानुको विकल्प छैन। हामी एकजुट हुनुपर्छ,’ पौडेलले भने, ‘पार्टी एक भयो भनेमात्रै हामीले सरकारका नराम्रा कामबारे आवाज उठाउन सक्छौं। संगठन विस्तार गर्न सक्छौं।’
सभापतिको निम्ता मानेर फर्किएका नुवाकोट जिल्ला कांग्रेस सभापति जगदीशनरसिंह केसीले सभापति र बरिष्ठ नेताले संगठन विस्तार अभियान गर्न जिल्ला सभापतिलाई निर्देशन दिएको सेतोपाटीलाई बताए।
‘पार्टीको शीर्ष नेताहरू एकजुट हुनुभएको छ। गाउँ फर्केर हामी सदस्यता विस्तार र संगठन सुढृणीकरण अभियानमा जुट्छौं,’ सभापति केसीले भने। महासमिति बैठक अगाडि हात मिलाउनसमेत नमानेका पौडेल र सभापति महासमिति बैठकपछि भने एकै ठाउँमा देखिएका छन्।