गतवर्षको संघीय, प्रेदश र स्थानीय चुनावमा नेपाली कांग्रेसले पराजय बेहोर्यो। चुनावी हारको समीक्षा, पार्टीको भावी नीति टुंग्याउन धेरै केन्द्रीय सदस्यहरू महासमिति बैठक राख्न सभापति शेरबहादुर देउवासँग माग गरे।
सभापति देउवाले मंसिर अन्तिम साता महासमिति बैठक बोलाए तर पर्याप्त छलफल र तयारी नपुगेकाले चार दिनका बैठक ९ दिनसम्म चल्यो। आठौं दिनमामात्र सदस्यहरूलाई पार्टीको नयाँ विधान दिइयो।
१४ जना पदाधिकारीसहित १६८ जना केन्द्रीय सदस्य हुने विधान महासमितिले पारित गरेको छ।
योबाहेक महासमितिले कुनै महत्वपूर्ण निर्णय गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।
यही विषयमा हामीले नेपाली कांग्रेस तीन जना केन्द्रीय सदस्यलाई महासमिति बैठकले के गर्यो र के गर्न सकेन भनेर सोधेका छौं।
मीनेन्द्र रिजाल , केन्द्रीय सदस्य
महासमिति बैठक उद्घाटन भएदेखि समापन नहुँदासम्म निराशा नै थियो। के पो हुने हो भन्ने थियो। पार्टीको सन्देश गलत पो जाने हो कि भन्नेमा चिन्ता सबैलाई भएको हो। समापन समारोहबाट उत्साह जागेको छ। शीर्ष नेताहरू मिल्नुमात्र भएन, पार्टीलाई विधान दिनुभयो। उत्साह बोकेर कार्यकर्ता जिल्ला फर्कन पाए भने जिल्ला तथा गाउँमा संगठन विस्तार गर्ने नवीन उर्जा प्राप्त भयो। व्यापक छलफलपछि हामीले विधान बनायौं। पारित गरियो। केही छिटपुट ठाउँबाहेक विधानको व्यवस्था उत्कृष्ट बन्यो।
नयाँ संविधानअनुसार विधान बनाउनु भनेको खुसीको कुरामात्रै होइन, उपलब्धि पनि हो। मलाई धेरै नै खुसी लागेको छ। यो स्वभाविक हो किनभने म विधान बनाउने प्रक्रियामा सक्रिय रहें। विधान मस्यौदा संशोधन समितिमा काम गरें।
नेताहरूबीच विधानबारे सहमति निर्माण गर्न मेहनत गर्नुपर्यो तर हामी सफल भयौं। विधान दिन सकेकोमा सन्तोष छ। केन्द्रीय कार्यसमिति गठन प्रक्रिया र पदाधिकारी संख्याबारे अरू विषयमा खासै विवाद थिएन। धेरै विकल्पमा एक साता हामीले छलफल गर्यौं । विकल्पमाथि छलफल लम्बिँदा बैठक केही दिन पर धकेलियो। केन्द्रीय कार्यसमितिमा बस्ने सबैले विधानमा आफ्नो अनुहार कहाँ छ? भनेर खोजेको हुनाले केही अलमल वा ढिलाइ भएकै हो। केन्द्रीय कार्यसमिति गठन अलि सन्तोषजनक भएन भन्ने लाग्छ तर अरू पक्षमा विधान राम्रो बनायौं। एउटा सम्झौतामा पुग्न र संविधानअनुसार अगाडि बढ्न पनि हामीले विधानलाई राम्रो बनाउनु त थियो नै।
समग्रमा भन्नुपर्दा महासमिति बैठक उद्घाटन हुँदा निराशा र तनाव थियो। नौ दिनमा त्यो तनाव हल भयो। बैठक समापन गर्दा उत्साह ल्याइदियो। अब कसरी अघि बढ्ने भन्ने तत्कालै त्यस्तो केही छैन। पार्टीले संगठन राम्रो बनाउन निरन्तर नै गरिराख्ने कामहरूलाई निरन्तरता नै दिन्छ।
नयाँ बनेका दुई जिल्ला, सात प्रदेश, १६५ निर्वाचन क्षेत्र, प्रदेश क्षेत्र, गाउँपालिकाजस्ता ठाउँमा अब नयाँ संरचना गठन गर्नु पर्नेछ। पार्टीले सहमतिबाटै यी ठाउँमा नेतृत्वसहित कार्यसमिति गठन गर्नु पर्ने काम छ।
१४ औं महाधिवशेन गर्ने समय पनि नजिकिँदै छ। बरिष्ठ नेता रामचन्द्र पौडेलले एक वर्ष थप गर्न हुन्न समयमै महाधिवेशन गर्नुपर्छ भन्नुभएको छ तर सभापति शेरबहादुर देउवाको कुरा सुन्ने हो भने एक वर्ष म्याद थप गर्ने हो कि भन्ने छ।
सभापतिले थप्न पाउने एक वर्ष म्याद थप्नुभएन भने त्यो कांग्रेसजनका लागि खुसीकै कुरा हुन्छ। नयाँ नेतृत्वले पार्टीलाई थप गति देला। पहिले पनि समय त थपिने गरिएको थियो। रामचन्द्र दाइ भन्दै हुनुहुन्छ- १५ महिनापछि उज्यालो भविष्य सुरूआत हुन्छ। तर शेरबहादुर दाइ भन्नुहुन्छ- पौने तीन वर्षसम्म जिम्मेवार वर्तमान कायम रहन्छ।
अब कांग्रेसभित्रको राजनीति महाधिवेशन केन्द्रीत नै रहला। महासमिति बैठक सफल भयो यसैमा खुसी हौं। केमा चुक्यौ भन्ने प्रश्न नगरौं।
पुष्पा भुसाल, केन्द्रीय सदस्य
महासमिति बैठक बस्यो यही ठूलो उपलब्धि हो। महासमिति बैठकले पार्टीको विधान, विपक्षीका हैसियतमा कस्ता आवाज उठाउने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन सरकारले कसरी गरिरहेको छ भन्नेबारे छलफलको अपेक्षा थियो। सबैभन्दा बढी त कांग्रेसलाई कसरी संविधान अनुकुलको बनाउने र पार्टीभित्र देखिएका नकारात्मक प्रवृत्ति हटाउने भन्ने विषयमा छलफल गर्नु यो बैठकको ध्येय थियो। बैठकमा धेरै समय विधानबारे छलफल भयो। संगठन कस्तो बनाउने भन्नेमा पनि केन्द्रीत भयो। यो अहिलेको आवश्यकता पनि थियो। हामीले संविधानअनुसारको पार्टी संरचना बनायौं। विधान बनायौं। हिजो सक्रिय कार्यकर्ताको भूमिका खासै थिएन। महाधिवेशन र चुनावका बेलामात्रै सक्रिय कार्यकर्ताले काम गर्थे। त्यसैले पनि पार्टीले यत्रो हार बेहोर्यो भन्ने कुरा पनि उठ्यो।
महासमितिले सक्रिय कार्यकर्ताको भूमिका परिवर्तन गरेको छ। सक्रिय कार्यकर्ताको काम र भूमिका बढाएको छ। जसले कांग्रेसलाई नयाँ उर्जा दिनेछ।
चुनावका बेला घातअन्तर्घात हुने अवस्था थियो। त्यो प्रवृत्तिले गर्दा हार बेहोर्नु पर्यो भन्ने कुरा उठ्यो। नेताहरूलाई जिम्मेवार हुँदै र सच्चिएर अघि बढ्न महासमिति बैठकमा कुरा उठ्यो।
हुन पनि संविधानमा जुन हिसाबको समावेशीता छ कांग्रेसले पनि त्यसैलाई आधार बनाउने भयो। हिजो पार्टीमा १७ प्रतिशत महिला समावेशीताको स्थिति थियो। आज ३३ प्रतिशत सुनिश्चितता भयो। महिलामात्र होइन अब पार्टीमा दलित, मुस्लिम अपाङ्गलगायतको प्रतिनिधित्व सुनिश्चित हुने भयो। महासमितिले प्रतिनिधित्वको सुनिश्चितता मात्र गरेको छैन। त्यसको अनुपातमा सक्रिय सदस्यता बढाउनु पर्नेमा पनि जोड दियो। सबै क्लस्टरको सहभागिता बनाउन सक्रिय सदस्य बढाउनुपर्छ। त्यसले नेतृत्वमा प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धात्मक राजनीति हुन्छ। यो नयाँ धारणा महासमिति बैठकले कांग्रेसलाई दिएको छ। सहमहामन्त्रीका लागि ८ वटा समावेशी क्लष्टरका आधारमा उम्मेद्वार बनाउने पनि महासमिति बैठककै उपलब्धि हो। राजनीतिक र आर्थिक प्रस्तावमा अझै बढी घनिभूत छलफल हुनुपर्थ्यो,हुन सकेन।
देशको अर्थतन्त्र हेर्ने हो भने निकै जर्जर भैसकेको स्थिति छ। त्यसबारे कांग्रेसले छलफल गर्नुपर्थ्यो, गरेन। मुलुकले प्राप्त गरेका राजनीतिक उपलब्धीलाई सरकारले कमजोर ढंगबाट कार्यान्वयन गरको छ। त्यसबारे महासमितिमा अझै छलफल हुनुपर्थ्यो त्यो हुन सकेन। महासमितिको ध्यान विधानमा जाँदा कतिपय छलफल गर्नु पर्ने कुरा छुटेका छन्।
पार्टी नेतृत्वलाई सिर्जनशील र बलियो बनाउन के गर्ने कसरी अघि बढ्ने भन्ने कुरा पनि छलफल गर्न छुटेको मध्ये एक हो। पदाधिकारीमा ३३ प्रतिशत महिला सुनिश्चितता भएन। त्यसका लागि अझै लड्नु पर्नेभयो।
विश्वप्रकाश शर्मा, प्रवक्ता
गत वर्ष भएको निर्वाचनमा पराजयपछि महासमिति बैठक बस्नुपर्छ भन्ने आवाज उठेको थियो।
महासमिति बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनु नै उपलब्धि हो, किनभने यसले पार्टीको विधान पनि बनायो। महासमिति बैठकमा पेश भएको राजनीतिक, आर्थिक, सांगठानिक, पार्टीभित्रको आम्दानी र खर्चको प्रतिवेदन तथा संशोधित विधान मस्यौदा दस्तावेजमाथि व्यापक छलफल गरियो।
सर्वसहमतिले पाँच वटै दस्तावेज पारित हुनु पनि उपलब्धि मान्न सकिन्छ। अर्कोतर्फ फरक दिशातिर फर्केका नेताहरूबीच महासमिति बैठकले नै एकता भयो। पार्टीभित्र र बाहिर पनि एकताको सन्देश गएको छ। पार्टीका साथीहरूमा नवीन उर्जा मिलेको छ। विमतिहरूबीचमा महासमितिले नै सहमति निर्माण गर्न मुख्य भूमिका खेल्यो।
महासमितिले कांग्रेसभित्र नयाँ उर्जा प्राप्त भयो। संविधान अनुसार विधान बनाउने पहिलो पार्टी कांग्रेस भएको छ।
आधुनिक पार्टीको आधुनिक विधान महासमिति बैठकबाट सर्वसहमतिमा बन्नु अर्को उपलब्धि हो। संविधानमा उल्लेख भएको प्रावधानअनुसार नै महिलालाई ३३ प्रतिशत स्थान सुरक्षित गर्ने पार्टी कांग्रेस भएको छ, यो तेस्रो उपलब्धि हो। यतिमात्र होइन, कांग्रेसको विधान समावेशी बनेको छ। संविधानअनुसार नै आठ वटा कलष्टरबमोजिम सिधै पार्टी पदाधिकारीमा जान विधानले नै बाटो सुरक्षित गरिदिएको छ। आठ वटा कलष्टरबाट एक-एक सहमहामन्त्री पार्टीमा हुनु अर्को उपलब्धिको रूपमा लिन सकिन्छ।
संविधानमा समाजवाद उन्मुख भनिएको छ। यसलाई आफ्नो किसिमले ब्याख्या गरी विधानमा उल्लेख गर्ने पहिलो दल कांग्रेस भएकोमा हामी खुसी छौं।
फरक दिशातिर फर्केका नेताहरूलाई एकै ठाउँमा ल्याउने काम पनि महासमितिले गरिदियो यो झन् अर्को खुसीको कुरा भइहाल्यो।
महासमिति बैठकले अब कसरी अघि बढ्ने भन्ने स्पष्ट दृष्टिकोण पनि दिएको छ।
वीपीले सुरू गर्नुभएको मेलमिलाप दिवसको दिन पारेर पुस १६ गते महासमिति बैठकले पारित गरेका विषय पार्टीको तल्लो निकायसम्म पठाउँछौं।
संगठन सुदृढीकरण गर्न पार्टीले छिट्टै मेची-महाकाली जागरण अभियान सुरू गर्दैछ। सदस्यता वितरण गर्दै बलियो संगठन बनाउन अब हामीले ढिला गर्न हुन्न भन्ने आवाज महासमिति बैठकमा पनि उठेकै हो।
गाउँदेखि सहरसम्म पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन्छौं। प्रशिक्षणका कार्यक्रमहरु सुरू हुन्छ।
नीति तथा प्रशिक्षण प्रतिष्ठानको काम प्रशिक्षण दिने हो। सौद्धान्तिक रुपमा कार्यकर्तालाई बलियो बनाउने हो। त्यसका लागि हामी गाउँदेखि सहरसम्म जान्छौं। महासमिति बैठकले अब के गर्ने भन्ने बाटो तय गरेकोले त्यसअनुसार नै पार्टी अघि बढ्छ।