वनमन्त्री शक्ति बस्नेतले सुर्खेतका बाढीपीडितहरूको समस्या छिट्टै समाधान गरिने आश्वासन दिएका छन्।
जाजरकोटमा आयोजना गरिएको महोत्सवको उद्घाटन गर्न जाने क्रममा बुधबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बस्नेतले विगतमा वर्षैपिच्छे सरकार बदलिएका कारण २०७१ सालको बाढीबाट पीडित भएकाहरूको समस्या समाधान हुन नसकेको बताए।
‘बाढी पीडितहरूको समस्या समाधानका लागि हामीले प्रदेश सरकार, संघीय सरकारका मन्त्रालयहरूसँग समन्वय गरिरहेका छौं,’ उनले भने, ‘यहाँहरू ढुक्क हुनुस् यो समस्या हामी छिट्टै टुंग्याउछौं । पालमुनि रहेका बाढीपिडितलाई घरमुनि ल्याउँछौं।’
बाढीपीडितलाई व्यवस्थापन गर्न सरकारले जमिन खोजिरहेको मन्त्री बस्नेतले जानकारी दिए।
‘सरकारले अहिले स्थानीय तहको मातहतमा रहेको सार्वजनिक जग्गामा बाढीपिडितलाई बसाउन सकिन्छ कि भनेर जग्गा खोरिहेको छ,’उनले भने, ‘जग्गा नभेटिएको खण्डमा बन क्षेत्रमा जग्गा खोजेर भएपनि उनीहरुको व्यवस्थापन गर्छौं, सबभन्दा ठूलो मान्छे नै हो। हामी जनतालाई अझै वर्षौं पालमा राखिरहन चाहँदैनौं। सरकार यो विषयमा गम्भीर बनेको छ ।’
पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले कर्णाली प्रदेशका लागि एउटा हेलिकप्टर अनिवार्य रहेको बताएका छन्।
‘यहाँका विकट बस्तीमा राहत दिन, उद्दार गर्न हेलिकप्टरको आवश्यकता छ,’ मन्त्री बस्नेतले भने, ‘यसका लागि प्रदेश सरकारसँग समन्वय गर्न नेपाल सरकार तयार छ। चाँडै वीरेन्द्रनगरमा एक हेलिकप्टर यतै रहनेगरी आउनेछ।’
संविधानमा नै प्रमुख जिल्ला अधिकारी संघीय सरकार मातहत रहने व्यवस्था भएकाले सोही व्यवस्थाअनुसार सरकार व्यवस्थापन गर्न अघि बढिरहेको पनि मन्त्री बस्नेतले बताए।
सरकारवादी मुद्दा हेर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई नै रहेको बताउँदै उनले प्रमुख जिल्ला अधिकारीको भूमिका संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्ने रहेको जानकारी दिए।
तस्बिरः बुधबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वन मन्त्री बस्नेत