नेपाली कांग्रेसमा भिन्न गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू पक्षीय यूवा नेतालाई दाँयाबायाँ राखेर राजधानीमा पत्रकार सम्मेलन गरे।
यताउता गगनकुमार थापा र उमाकान्त चौधरीलाई राखेर सिटौलाले १४ औं महाधिवेशनको मिति तय गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गरे।
महासमिति बैठक सकिँदा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसँग हात मिलाएर एकताको सन्देश दिएका सिटौलाले बैठक सम्पन्न भएको एक साता नबित्दै आफूपक्षका नेता राखेर पत्रकार सम्मेलन गरे।
पत्रकार सम्मेलनमा सिटौला दुइटा मुद्दामा केन्द्रीत भए।
पहिलो, १४ औं महाधिवेशन जेठभित्रमा गर्ने।
दोस्रो, शीघ्र महाधिवेशन नगर्ने भए विधानको संक्रमणकालीन व्यवस्था अनुसार वडादेखि केन्द्रसम्मका संघीय संरचनामा अधिवेशनबाट नेतृत्व ल्याउने।
‘केन्द्रीय कार्यसमितिले छ महिनाभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएर जानुपर्छ। होइन भने संक्रमणकालीन व्यवस्थामा गएर तलदेखि माथिसम्म सर्वसम्मत वा चुनावबाटै कार्यसमिति बनाउनुपर्छ,’ सिटौलाले भने।
भूगोल परिवर्तन भएका नवलपरासी र रुकुममा जिल्ला अधिवेशन गर्नुपर्ने, संघीय, प्रदेश निर्वाचन क्षेत्रमा कार्यसमिति गठन गर्नुपर्ने र गाउँपालिका र नगरमा संघीय संरचनाअनुसार नै कार्यसमिति गठन गर्न ढिलाइ गर्न नहुने उनले बताए। यतिमात्र होइन, सभापति देउवा एकलौटी ढंगले अघि बढेकोमा सिटौलाले आलोचना गरे।
‘घरमूलीले घरका सदस्यसँग सल्लाह नगर्ने हाम्रो पार्टीको समस्या यही त हो,’ सिटौलाले चेतावनी दिए, ‘सल्लाह नगरी घर बिगार्ने हो भने एक दिन चाबीताला खोस्ने दिन आउँछ।’
उनी यतिमा रोकिएनन्। दृष्टिकोण, रणनीति र कार्यक्रम नभएकोले आफूले देउवा र पौडेल दुवैलाई नेता नमानेको उनले बताए।
‘मैले शेरबहादुरजी र रामचन्द्रजीलाई नेताको रूपमा देखिनँ। त्यो नजर अहिले पनि कायमै छ। सभापति मानेकै छु, बरिष्ठ नेता मानेकै छु। चियरलाई त मान्नैपर्छ,’ उनले भने।
सिद्धान्त, नीति, व्यवहार र आचरणले एक हुनुपर्ने बताएका सिटौलाले थपे, ‘सभापति र बरिष्ठ नेताको लभमा ‘लष्ट’ नहोस्। अनुहार हेरेर एकता हुन्न, सिद्धान्त र व्यवहारमा सबैको भावना समेट्न सक्ने हुनुपर्यो ।’
आफू पौडेल गुटमा समाहित नभएको उनले बताए।
‘सुजाताजीको घरमा हामी लन्च गरेका थियौं कसले फेसबुकमा फोटो राखिदिएछ। सभापतिले तपाईंहरु एक भएको हो भन्नुभो, हो भनिदिएँ,’ हाँस्दै उनले भने, ‘तपाईं पनि बैठक गरेर आफ्नो गुटको फोटो फेसबुकमा राख्नुस् भनिदिएँ।’
दुई घण्टा चलेको पत्रकार सम्मेलनको अन्तिममा आगामी महाधिवेशनमा कुन पदमा उठ्ने प्रश्नमा सिटौलाले चलाखीपूर्ण जवाफ दिए, ‘नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु पहिलेजस्तो, अहिल्यै हतार नगरौं।’
कांग्रेसको महाधिवेशन आउन एक वर्ष तीन महिना बाँकी छ।
महाधिवेशन गराउने प्रयोजनका लागि विधानअनुसार सभापतिले थप एक वर्ष म्याद थप गर्न पाउँछन्। सिटौला र बरिष्ठ नेता पौडेल समूहले संघीय संरचनामा जानका लागि छिटै महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिँदै आएका थिए।
गत महाधिवेशनमा सिटौलासँग मिलेर महामन्त्री उठेका गगन थापाले पनि गुटको बचाउ गरे।
‘द्वन्द्व नभएको कुनै पार्टी हुन्छ? समूह/गुट नभएको पार्टी हुन्छ भन्नेकुरा नै हावादारी हो,’ उनले भने, ‘गुटहरु गिरोह बन्दै स्वार्थसँग जोडिने खतराबाट भने बच्नुपर्छ।’
महासमितिले पारित गरेको विधानलाई सर्वोच्चता मानेर पार्टी पद्धतिमा चल्नुपर्ने उनले बताए।
‘पार्टीमा पद्धति हुनुपर्छ। विधानको शासन हुनुपर्छ,’ थापाले भने, ‘पदाधिकारीको बैठक बस्छ, कार्यसम्पादन समितिको बैठक बस्दैन, खोइ विधि र पद्धति?’
सभापति देउवा र बरिष्ठ नेता पौडेलबीचको ‘लभ’ साना कुराले बिछोडमा पुग्ने भएकोले विधिअनुसार चल्न थापाले आग्रह गरे।
‘लभ भनेको एक अर्कालाई गर्ने प्रेम हो। लभ भावना हो। केही तलमाथि हुने बित्तिकै गहिरो प्रेम छिनमै विछोड हुन्छ,’ उनले उदाहरण दिए, ‘लभभन्दा बिहे संस्थागत हुन्छ, सभापति र बरिष्ठ नेता विधिमा चल्नुपर्छ।’
कांग्रेसमा अब आउने नयाँ नेतृत्वले पहिलेभन्दा पार्टी सुध्रिएर अघि बढेको विश्वास जनताका माझमा दिन सक्नुपर्ने थापाले बताए।
‘पार्टीले काम गर्ने तरिका र प्राथमिकता पहिलेजस्तो होइन फरक ढंगबाट जान्छु भन्ने बनाउन सकेन भने पार्टी फेरि चुनाव हार्छ,’ उनले भने।