नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदन परिमार्जन आवश्यक रहेको भन्दै पारित गर्न अस्वीकार गरिदिएको छ।
प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान स्थायी समितिका सदस्यहरूले राखेपछि स्थायी समिति बैठक शुक्रबार बिहान ८ बजे सम्मका लागि स्थगित भएको छ।
बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र पार्टी कामको बचाउ गरेका थिए।
दुई घन्टा लामो सम्बोधनका क्रममा उनले सरकारले राष्ट्रियता, संघीयता कार्यान्वयनको पक्षमा काम गरिरहेको बताएका थिए। एकताको कार्य बाँकी रहेको उल्लेख गर्दै ओलीले एकता सुदृढ बनाएर जानुपर्नेमा जोड दिएका थिए।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘पुस मसान्तभित्र बाँकी सांगठनिक एकीकरण सक्ने गरी गृहकार्य’ गर्न प्रस्ताव गरेको बताए।
प्रधानमन्त्री ओलीले बैठकमा लोकतन्त्रलाई उन्नत बनाउन सामाजिक न्याय, विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको बताए।
‘प्रधानमन्त्रीले सुखी नेपाली समृद्ध नेपालको अवधारणा अनुसार काम सरकारले गर्ने दृढता व्यक्त गर्नुभयो’, श्रेष्ठले भने।
ओलीले बैठकमा धारणा राखेलगत्तै प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए।
सचिवालय सदस्यसमेत रहेका वामदेव गौतमले प्रतिवेदनमा असहमति जनाए। बैठकमा गौतमले यसअघि नै लिखित फरक मत राखेका थिए।
गौतमसँगै घनश्याम भुषालले पनि फरक मत राख्ने स्पष्ट पारेका थिए। बैठकमा नेता भीम रावलले वाइड बडी विमान खरिद र बिमस्टेक सैन्य अभ्यासका विषयमा स्पष्ट जवाफ आउनु पर्ने धारणा राखेका थिए।
स्थायी समिति सदस्यहरूले ओली र दाहालको प्रस्ताव पारित गर्न अस्वीर गरेपछि बिहीबारको बैठक स्थगित भयो।
बैठक शुक्रबार बिहान ८ बजे पुन: बस्नेछ।