प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिहीबार स्थायी समिति बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिए। जवाफ दिनकै लागि उनले दुई घण्टा खर्चिए। तर ओलीले कहीँ पनि कमजोरी भएको स्वीकारेनन्। स्थायी समिति सदस्यहरूका अनुसार बैठकमा उनले एक रत्ति पनि आत्मालोचना र गल्ती भएको मानेनन्।
नेकपा स्थायी समितिका एक सदस्यका अनुसार ओलीले 'सरकारले विकास गर्दैछ, निर्माण गर्दैछ, राम्रो गर्दैछ र परिणाम छिट्टै देखिन्छ' भन्दै लामो व्याख्या गरेका थिए।
‘पार्टी लिडरसिप र सरकार ठीक ट्र्याकमा छ भन्ने उहाँले धारणा राख्नुभयो,’ एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने, ‘उहाँले प्रदेश कमिटी गठन विषयमा पनि जे भयो भयो, अब फर्कनु हुन्न, पछि केही भएछ भने सोचौंला भनेर जवाफ दिनुभयो।‘
स्थायी समितिका अर्का सदस्यका अनुसार बैठकमा ओलीले सुनकाण्ड छानविनलाई सफलताका रुपमा व्याख्या गरे।
‘भारतमा भर्खरै पक्राउ परेको सुन र शंकास्पद व्यक्ति नेपालको सुनकाण्डमा जोडिएको व्यक्ति हुन्,’ ओलीले बैठकमा भने, ‘सरकारले सही ढंगले सुन तस्करीमा अनुसन्धान गरेको भन्ने त सुन भारतमा पक्राउ परेबाट पनि देखियो।'
उनले सरकार तस्करी रोक्न सफल भएको दावी गरेका थिए।
सरकारले क्षमताले भ्याएसम्म काम गरिरहेको उनले बताएका थिए। निर्मला पन्त घटनाको सुरुआतमा प्रहरीको छानविनमा भएको कमजोरीले कतिपय प्रमाण नष्ट भएकै कारण दोषी पत्ता लगाउन कठिन भइरहेको ओलीले बताएका थिए। जसरी पनि हत्यारा पत्ता लगाउने भन्दै सुरक्षा निकायले भ्याएसम्मको काम गरिरहेको उनले उल्लेख गरे। निर्मला पन्तको घटना राजनीतिक घटना बनेकाले पनि सरकार दोषी पत्ता लगाउन दृढ भएको उनले बताएका थिए।सरकार योजना बनाएर काम गरिरहेको तथा भ्रष्टाचार विरुद्ध समेत कठोर कदम चालेर अगाडि बढेको बताएका थिए।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न लागिरहेको व्याख्या गरेका थिए। उनले लामो समय राष्ट्रियता, सार्वभौमसत्ता, लोकतन्त्रको विषयमा व्याख्या गर्न खर्चिएका थिए। आफूले कुनै पनि काम गलत नियतले नगरेको दावी समेत गरेका थिए। स्थायी समितिका एक सदस्यका अनुसार ओलीले पुसभित्र सांगठनिक एकीकरण सक्ने विषमया सहमति जनाएका थिए। त्यसका लागि कार्यदल बनाएर जान तयार रहेको बताए। सरकारले क्षमता अनुसार गतिशीलताका साथ काम गरिरहेको पनि उनको भनाइ थियो।
स्थायी समिति बैठक ढिला भएको जिम्मेवारी आफूले लिने पनि उनले बताए।
ओलीले राजनीतिक प्रतिवेदनमा ‘अलिकति नुन टाठो नभएको, बेसार हालेको भए हुन्थ्यो जस्ता कुरा’ आएको भन्दै त्यसलाई विचार गर्ने भन्दै पारित गर्न आग्रह गरेका थिए। तर उनले प्रस्ताव राखे लगत्तै वामदेव गौतमले बैठकमै असन्तुष्टि पोखे।
‘मलाई तपाईं बिग्रेको-भत्केकोप्रति आत्मालोचना गर्नु होला भन्ने लागेको थियो। गर्नुभएन। अझै पनि गर्नु भए हुन्छ’, गौतमले बैठकमा भने, ‘तपाईंले मलाई पनि अन्यथा सोच्नुभयो। म प्रचण्डको हुने, तपाईंको नहुने भन्ने हुन्न। म तपाईंकै हुनसक्छु। मैले राखेको फरक मत पनि पार्टीको विकासका लागि हो। एउटाले प्रधानमन्त्री चलाउँ। अर्काले पार्टी चलाउँ भन्ने कुरा हो। यो गरौं।'
गौतमले आत्म आलोचना नगरेको अवस्थामा आफूले फरक मत लेख्ने बैठकमा बताएका थिए।
गौतम लगत्तै स्थायी समितिका अर्का सदस्य घनश्याम भुषालले धारणा राखेका थिए। उनले अन्य अजेण्डाहरू छलफल नै नभएको भन्दै आपत्ति जनाए। ‘बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पढ्नुस्। छलफल गरौं। अनि अरु अजेण्डामा छलफल गरौंला भन्नुभयो’, भुषालले बैठकमा भने, ‘अहिले दिनदहाडै अजेण्डा नै नराखी बैठक राख्न खोज्ने। अजेण्डा सेट गर्नुपर्छ।‘
भुषालको टिप्पणीमा अध्यक्ष ओलीले 'साँझ परिसक्यो' भन्ने जवाफ फर्काए। आक्रोशित भुषालले ‘साँझ परिसक्यो भन्ने पनि कुनै तरिका हो। यो स्तर हो। तपाईं संसदमा पनि, बाहिर कार्यक्रममा पनि यस्तै स्तरको कुरा गर्ने। अजेण्डाहरुमा छलफल हुनुपर्छ‘ भनेका थिए।
भुषालपछि भीम रावलले विवादास्पद युनिफिकेशन चर्चको आयोजनामा एसिया प्यासिफिक समिटमा भएको गल्ती नस्वीकारेकोप्रति आपत्ति जनाएका थिए। उनले बिमस्टेक सैन्य अभ्यासको विषयमा कुटनीतिक कमजोरी भएको समेत उल्लेख गरे। संगठनका तमाम विषय बाँकी रहेकाले कुनै निर्णय नै नगरी स्थायी समिति सिध्याउन खोजिएको भन्दै आपत्ति जनाए।
‘एसिया प्यासिफिक समिटबारे जनतामा भ्रम छ। हाम्रो कमजोरी छ। तर यसमा केही नबोल्ने र यसैगरी पास गर्ने हो भने मेरो असहमति रहन्छ,’ रावलले बैठकमा भने, ‘पार्टीले पोजिसन क्लियर गर्नुपर्छ। हाम्रा लागि हैन। जनताका लागि। धर्म विशेष काँधमा बोक्ने पार्टी होइन भन्नुपर्छ।'
नेताहरूले बोल्न हात उठाउन थालेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठक सार्न प्रस्ताव गरे। वरिष्ठ नेता झलनाथ खनाल र नेता नारायणकाजी श्रेष्ठले पनि पार्टीको सैद्धान्तिक विषयमा स्पष्ट पार्नु उचित हुने धारणा राखेका थिए।
प्रचण्डको सुझावमा ओलीले बैठक शुक्रबार ८ बजेसम्मका लागि स्थगित गरे।