कर्मचारी आन्दोलनले संघीय संसदको बैठक र यसका समितहरुको बैठक प्रभावित हुन थालेका छन्।
कर्मचारीहरुले कार्यालय समयभन्दा धेरै काम लगाएबापत् अतिरिक्त सुविधा माग गरेपछि बैठकहरु प्रभावित हुन थालेका हुन्।
कर्मचारीको विरोधका कारण संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले बैठकको समय नै परिवर्तन गर्नु परेको छ।
उनले प्रधानन्यायाधीशमा सिफारिश चोलेन्द्र शमशेर जबराको सुनुवाइका लागि शुक्रबार दिउँसो ३ बजेका लागि बैठकको समय तोकेका थिए।
तर कर्मचारीले शुक्रबार ३ बजे छुट्टी हुने भन्दै समय सार्न दबाब दिए।
तीन बजेका लगि सूचना जारी भैसकेपछि उक्त बैठक दोश्रो सूचना मार्फत् १२ बजेका लागि सारियो।
संघीय संसदका कर्मचारीले आफूले अतिरिक्त सुविधा नपाएको भन्दै बिहान १० बजे देखि साँझ ४ बजेसम्म मात्र काम गर्न थालेका छन्।
यसअघि संघीय संसदमा कार्यरत कर्मचारीले बिहान र बेलुका काम गरेको भत्ता तथा खाजा सुविधा पाउँदै आएका थिए।
मन्त्रिपरिषद्ले मितव्ययिताको नीति लिएपछि अहिले कर्मचारीहरुको भत्ता कटौती गरिएको छ।
संघीय संसदका सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री युवराज खतिवडासँग पटक पटक परामर्श गरेपनि कर्मचारीलाई भत्ता दिने विषयमा कुनै सहमति जुटेको छैन।
खतिवडाले मन्त्रिपरिषद्कै भत्ता कटौतीको निर्णय भएकाले आफू एक्लैले बदल्न नसकिने जवाफ सभामुखलाई दिएका छन्।
त्यसो त संघीय संसदको पहिलो बैठक राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ४ बजेका लागि डाकेकी थिइन्।
कर्मचारीहरुले कार्यालय समय बाहिर बैठक राखिएको भन्दै विरोध जनाएका थिए।
संघीय संसदका समितिका बैठकहरु यसअघि बिहान बस्ने भएपनि भत्ता कटौतीसँगै बिहानको समयमा बैठक हुन छाडेका छन्।
संसदीय समिति दिउँसोको समयमा बैठक बस्दा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरु दिउँसोको समयमा समितिमा आउनुपर्दा मन्त्रालयका कामसमेत प्रभावित हुन थालेका छन्।
संघीय संसदका कर्मचारीको आन्दोलनका कारण यसअघि मंसिर २७ गते संघीय संसदले बाह्रौं सेवा दिवस समेत स्थगित गरेको थियो।