बिहिबार नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिका सदस्यहरुको धारणामा जवाफ दिए लगत्तै राजनीतिक प्रतिवेदन पारित गर्न निर्देशनात्मक ढंगले आग्रह गरे। तर निर्देशनात्मक सुझाव विपरित नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले बैठकमा पेश गरेको प्रतिवेदन अड्किन पुग्यो।
ओलीले बैठकमा स्थायी समितिका सदस्यहरुको सुझावलाई ‘तरकारीमा नुन टाठो नभएको तथा बेसार नपुगेको’ रुपमा अर्थ्याइउँदै प्रतिवेदन पारित गर्न सुझाएका थिए। उनले ‘प्रतिवेदन भनेको यस्तै त हुन्छ। यसअघि पनि यस्तै त हुन्थ्यो’, भन्दै पारितका लागि आग्रह गरे। तर सचिवालय सदस्य बामदेव गौतमसँगै भीम रावल र घनश्याम भुषालले डटेर बैठकमा विरोध गरे। अन्तत: बैठक लम्बियो।
शुक्रबार बिहान भने अध्यक्षद्वय फरक ढंगले प्रस्तुत भए। ओलीले बैठकमा स्थायी समितिका सदस्यहरुले बोलेका सबै कुरा टिपेको बताए।
‘सबैको धारणा समेटिने गरी परिमार्जन गर्छौँ, हामीले सबैको कुरा टिपेका छौँ’, ओलीले बैठकमा भने, ‘प्रतिवेदन सचिवालयमा पेश गरेर ल्याउँछौँ। हामी सुझाव समेटेर परिमार्जन गरेर सचिवालयमा पठाउँछौँ।’
स्थायी समितिका एक सदस्यका अनुसार ओली बैठकमा लचिलो ढंगले प्रस्तुत भए। सचिवालयलाई जिम्मेवार बनाउने ढंगले प्रस्तुत भए।
प्रचण्ड पनि बैठकमा लचिलो देखिए।
उनले बैठकमा भने - ‘म त गल्ती देखियो भने आत्म आलोचना गर्ने मान्छे हुँ। गल्ती भयो भने यहाँनेर गल्ती भयो है भन्ने मान्छे हुँ।’
स्थायी समितिका एक सदस्यका अनुसार प्रचण्डको भनाईको एउटा अर्थ – ‘फकाएरै काम लिन सकिन्छ’ भन्ने थियो। अर्को अर्थमा भने उनले घुमाउरो भाषामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आत्म आलोचना गर्न सुझाएका थिए।
बिहिबार आक्रोशित बनेका नेकपाका स्थायी समिति सदस्यहरु पनि बिहिबार बैठकमा ढिलाई भएकै कारण धेरै आलोचना गर्नु परेको निष्कर्षमा पुगे। विधानमा परिवर्तन र लामो समयसम्म बैठक नभएका कारण अध्यक्षद्यको कार्यशैलीमा धेरै प्रश्न उठेको उनीहरुको भनाई थियो।
तर अध्यक्षद्वय सबैलाई समेटेर कार्यदल बनाउने घोषणा गरेपछि पनि चुप लगाउन भूमिका खेल्यो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ८ सदस्यीय कार्यदलमा नेकपाका सबै पक्षका नेता समेटिएका छन्।
बिहिबार कमि कमजोरीमा आत्म आलोचना नगरेको टिप्पणी खेपेका अध्यक्षद्वय लचिलो रुपमा प्रस्तुत भएपछि शुक्रबार नेकपा बैठकले अध्यक्षद्वयको प्रतिवेदन परिमार्जन सहित पारित गर्ने निर्णय लियो। प्रतिवेदन परिमार्जन गर्ने सर्तमा सर्वसम्मत समेत भयो।
नेकपाका अर्का एक स्थायी समितिका सदस्यका अनुसार यो बैठकले नेकपाका अध्यक्षद्वयको आँखा खुलेको छ।
‘प्रचण्डसँग मिलेपछि जसरी पनि पार्टी चलिहाल्छ भन्ने ओलीको बुझाई सायद कम भयो होला’, ती सदस्यले भने, ‘प्रचण्डलाई पनि ओलीको साविकको एमालेमा सबैथोक चल्छ भन्ने भ्रम परेको भए टुट्यो होला।‘
ती सदस्यले अध्यक्षद्वयलाई स्थायी समिति बैठकले कुनै पनि निर्णय लाद्न सकिन्न भन्ने स्पष्ट सन्देश दिएको बताए। बैठकले प्रचण्डलाई स्वीकार्यताका लागि अझै धेरै घुलमिल हुनुपर्ने स्पष्ट सन्देश दिएको ती सदस्यले बताए।
‘ओलीलाई पनि प्रचण्ड मात्र हैन अरुको कुरा सुन्नुपर्छ भन्ने परेको हुनुपर्छ’, उनको भनाई थियो।
त्यसो त नेकपाको स्थायी समितिले गठन गरेको कार्यदललाई बृहत अधिकार प्रदान गरिएको छ।
सचिवालयका अधिकारको रिभ्यु गर्ने, पार्टीको संगठनात्मक प्रस्ताव तयार गर्ने, पोलिटब्युरो गठन र केन्द्रीय समिति सदस्यको कार्य विभाजन देखि जिल्ला समितिको गठन र प्रदेश कमिटीमा भएका असङ्गती मिलाउने गरि प्रस्ताव ल्याउन कार्यदललाई अधिकार दिइएको छ। त्यस्तै कार्यदललाई विभिन्न विभागमा रहने सदस्यको नाम प्रस्ताव गर्न समेत अधिकार दिइएको छ।
‘स्थायी समिति सदस्यहरुलाई पनि कार्यदलमा राखिएपछि सचिवालयले थोरै भएपनि तल्लो कमिटीलाई विश्वास गरेको देखिएको छ’ ती सदस्यले भने, ‘अलिकति आन्तरिक लोकतन्त्र बढ्यो।‘
त्यसो त यो पटकको नेकपाको स्थायी समिति बैठकमा फरक मत राखेर वामदेव गौतमले आफू थप सक्रिय बन्ने स्पष्ट सन्देश समेत दिएका छन्। बिहिबार फरक मत राख्ने बताएका गौतम शुक्रबार खासै बोलेनन्।
‘उहाँको म्यासेज स्पष्ट छ’, ती सदस्यले भने, ‘उहाँले अब नेकपामा आफ्नो भूमिका बढाउन सक्रियता देखाउने स्पष्ट गर्नुभयो।’
नेकपाको यो बैठकमा सबैभन्दा कडा रुपमा भने भीम रावल प्रस्तुत भए।
उनले युनिफिकेशन चर्च आयोजक रहेको एसिया प्यासिफिक समिटको विषयमा पार्टीले गल्ती गरेको स्वीकार गर्नैपर्ने दबाब श्रृजना गरे।
अध्यक्षद्वयले शुक्रबार पनि समिटबारे गल्ती स्वीकार नगरेपछि उनले फरक मत लेख्ने अडान नै राखे। भीम रावल मात्र नभइ नेकपाका स्थायी समितिका झण्डै १५ सदस्य धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको सहभागिता गल्ती भएको बैठकमा बताएका थिए। उनीहरुले रावललाई समर्थन गरेका थिए। जसका कारण नेकपाका अध्यक्षद्वय रावलको धारणा प्रतिवेदनमा राख्न तयार भए।
‘पार्टीले आगामी दिनमा यस्तो गल्ती गर्दैन भन्ने जनतालाई आश्वस्त पार्नुपर्छ भनेर रावलले धारणा राख्नुभयो। उहाँले नोट अफ डिसेन्ट नै लेख्छु भन्नुभयो’, ती सदस्यले भने, ‘प्रचण्डले रावललाई तपाँइको धारणा लेखेर दिनुस् त्यही स्पिरिटमा प्रतिवेदनमा राखौँला भनेपछि मात्र उनी मत्थर भए।’
रावलले नेताहरुहरुलाई ‘कबुल’ गराएर मात्र छाड्नुभयो।