सुर्खेत, पुस १४ ।
कर्णाली प्रदेशको ३२ औं मन्त्रिपरिषद् बैठकले कालीकोटको पलाता गाँउपालिका–१ न्यौपानेवाडामा पुस ८ गते भएको आगलागीबाट पीडित परिवारहरूको पुनस्र्थापनाका लागि ‘अग्निपीडित परिवार पुनस्र्थापना कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले अग्निपीडितहरूको आवास निर्माणका लागि नमूना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ।
अग्निपीडितहरूका लागि सञ्चालन गरिने कार्यक्रमअन्तर्गत पीडित परिवारको लागि आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिहरूलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने निर्णय पनि बैठकबाट गरिएको छ ।
यस्तै, प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद औषधालयको व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू मनोनित गरेको छ।
शुक्रबार साँझ बसेको बैठकले प्रदेशस्थित ११ अस्पताल र २ आयुर्वेद औषधालयहरूको व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य मनोनित गरेको हो।
जसअनुसार प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा श्यामलाल कँडेल र सदस्यमा हरिमाया शर्मालाई मनोनित गरेको छ।
यस्तै जिल्ला अस्पताल सल्यानमा दामोदर गौतम, जिल्ला अस्पताल मुगुमा पारसमणि मल्ल, जिल्ला अस्पताल डोल्पामा तेजेन्द्रबहादुर रोकाय, जिल्ला अस्पताल हुम्लामा छेपाल दोर्जे लामा तामाङ, जिल्ला अस्पताल कालीकोटमा सरोज वोगटी, जिल्ला अस्पताल दैलेखमा लोमन शर्मा, जिल्ला अस्पताल जाजरकोटमा धर्मशिला बस्नेतलाई अध्यक्ष मनोनित गरेको छ ।
यसैगरी, जिल्ला अस्पताल रुकुममा सुन्दर वली, जिल्ला अस्पताल मेहलकुना (सुर्खेत) मा मानबहादुर खत्री, जिल्ला आयुर्वेद औषधालय सुर्खेतमा ओमबहादुर बोहरा र जिल्ला आयुर्वेद औषधालय जुम्लामा मनोज बुढाथोकी मगरलाई अध्यक्षमा मनोनित गरिएको छ ।
मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव अनुसार अध्यक्ष तथा सदस्यको मनोनयन गरेको हो ।
यस्तै, अन्तरप्रदेश समन्वय परिषदको पुस ३ गतेको बैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।