प्रधानन्यायाधीशका लागि सिफारिश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ सकिएको छ।
मंगलबार सिंहदरबारमा भएको सुनुवाइका क्रममा जबराले आफूविरूद्ध परेका उजुरी र सांसदहरूले सोधेका प्रश्नको जवाफ दिए। उनले न्यायालयबारे नागरिकमा रहेका गुनासा र जिज्ञासालाई आफूले तयार पारेको कार्ययोजनाले सम्बोधन गर्ने बताए।
आफूविरूद्ध परेका उजुरी सहृदयताका साथ लिने उल्लेख गर्दै उनले आफूले ऐन र कानुन बमोजिममात्रै फैसला गरेको दाबी गरे।
‘जति पनि उजुरी आएका छन्। तिनलाई सहहृदयताका साथ लिन्छु,यसबाट मलाई आफैलाई परिमार्जन गर्ने मौका मिलेको छ,’ जबराले भने, ‘मेराविरूद्ध परेका उजुरीबाट म भागेर जान्नँ।’
जबरामाथि वीरगञ्जको छपकैया पोखरीको जग्गा व्यक्तिको नाममा पास गर्न आदेश दिएको उजुरी परेको थियो।
‘मालपोतमा ती व्यक्तिले तिरो तिरेको रसिद छ। त्यही आधारमा फैसला गरेको छ। कानुन र प्रमाणमा छुट छैन। यो मुद्दामा मेरो बद्नियत र अपलचन छैन,’ जबराले भने।
पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीले पाएको दाइजोको जग्गाको आदेशमा पनि उनले आफ्नो बचाउ गरेका छन्।
‘प्रेरणाले दाइजो पाएको कुरामा कुनै विवाद छैन। तर गणतन्त्र आएपछि तत्कालीन राजाको सबै सम्पत्ति नेपाल ट्रष्टको नाममा गएको हो। यो मुद्दा अहिले संवैधानिक इजलासमा छ,’ जबराले भने।
पुनरावेदन अदालत विराटनगरमा हुँदा म्यारिज खेलबारे गरेको फैसलामा पनि जबराले स्पष्टिकरण दिएका छन्।
‘त्यो मुद्दामा न्यायाधीशले कानुनको ब्याख्या गर्दा जुवा ऐनलाई आधार मानिएको थियो। फैसलाले तासको म्यारिज खेल जुवाको परिभाषामा पर्दैन भनेको हो। बौद्धिक खेल र मनोरञ्जनात्मक खेल भन्ने शब्द पत्रकारको हो, फैसलाको होइन,’ उनले भने।
जयप्रकाश गुप्ताको भ्रष्टाचार मुद्दामा सर्वोच्चकी तत्कालिन न्यायाधीश सुशीला कार्कीले फैसला गर्दा विशेष अदालतबाट गुप्तालाई सफाइ दिने जबराको निर्णयमा न्यायिक विचलन देखिएको टिप्पणी लेखेकी थिइन्।
जबराले भने कार्कीको उक्त टिप्पणीमाथि न्यायपरिषदले छानबिन गरी आफूलाई सफाइ दिएको बताए। उनीमाथि सरकारले बन्द गरेका क्यासिनोका पक्षमा फैसला गरेको आरोप पनि लागेको थियो।
‘क्यासिनो ऐन नबनीकन नियमावली बन्यो। यसको मुद्दा संवैधानिक इजलासमा छ,’ जबराले भने। उनले आफू ब्ल्याकमेलिङ गरेर अदालतमा प्रवेश गरेको आरोपलाई पनि अस्वीकार गरे।
‘त्यतिबेला तत्कालीन न्यायाधीश सुरेन्द्र सिंहको जन्म मितिबारे प्रश्न उठ्यो। मुद्दा मैले दायर गरेको होइन म रिट निवेदक नभई थिएँ,’ जबराले भने, ‘पछि अदालती कागजात र कानुनी व्यवस्थामा मेरो पक्षमा सन्तुष्टमा देखिएपछि मुद्दा फिर्ता लिएको हो। सुरेन्द्र सिंहलाई ब्ल्याकमेल गरेर म आएको होइन। योग्यताबाट भएको हो। यो आरोपले मलाई हृदयमै पिन्च भएको छ। यसबाट मैले मुक्ति पाउनु पर्छ।’
उनले न्यायालयको आस्था र साख जोगाउन तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास बहिष्कार गरेको दाबी गरे।
‘गोपाल पराजुली मेरा सहपाठी थिए। पहिलै देखि उनका दुई उमेर थाहा थियो। दोस्रो दिन इजलास बस्नु अघि उनले हामीलाई आफ्ना सबै कागजात देखाए। त्यहाँ तेस्रो उमेरपनि देखियो। राजीनामा दिन भन्यौँ तर उनले इन्कार गरेपछि न्यायालयको आस्था र शाख जोगाउन बहिष्कार गरेको हो,’ जबराले भने, ‘मैले इजलास बहिष्कार गरेको केहीदिनपछि उनले राजीनामा दिए। बेञ्च बहिष्कार पत्रकारको शब्द हो।’
उनले न्यायालयलाई समावेशी बनाउन आफूले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे। ‘आफ्नो मुखमा कोतरेर घाउ बनाएर जान नपरोस भन्ने प्रतिवद्धता व्यक्त गर्छु,’ जबराले भने।