नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चका बरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई अबदेखि पेसी नतोक्ने घोषणा गरेका छन्।
बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पदभार सम्हालेलगत्तै जबराले संसदीय सुनुवाइ समितिको निर्णयको सम्मान गर्न र अदालतलाई निकास दिन अबदेखि जोशीलाई पेसी नतोक्ने घोषणा गरेका हुन्।
‘पेसी नतोक्ने कठिन निर्णय हो। संविधान र स्वतन्त्र न्यायापालिकालाई राम्रो हुन्छ भने हामीले कठिन निर्णय गर्नुपर्छ। आफ्नो बाटो लागे राम्रो हुन्छ भने त्यसका लागि पनि तयार हुनुपर्छ,’ प्रधानन्यायाधीश जबराले भने,‘संसदीय सुनुवाइ समितिमा पनि मैले समितिको निर्णयको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरेको छु। म मेरा साथी दीपकराज जोशीलाई संसदीय समितिको निर्णयको सम्मान गर्न आग्रह गर्छु। आज उहाँलाई पेसी तोकिएको छैन, अबदेखि पनि म उहाँलाई पेसी तोक्दिनँ।’
जबराले यस्तो घोषणा गर्दा न्यायाधीश जोशी भने त्यहाँ थिएनन्। आज पनि जोशीलाई सर्वोच्चमा पेसी तोकिएको छैन्।
यसअघि संसदीय सुनुवाइका क्रममै जबराले जोशीलाई बेन्च नतोक्ने संकेत गरेका थिए।
नेकपाका सांसद योगेश भट्टराईले सुनुवाइबाट अस्वीकृत जोशी अदालतमा बसिरहनुले संसदीय सर्वोच्चतामा प्रश्न उठेको बताएका थिए।
‘अस्वीकृत भएका मानिस पनि बसिरहने,’ भट्टराईले जबरालाई प्रश्न गरेका थिए, ‘प्रधानन्यायाधीश न्यायपरिषद्को अध्यक्ष पनि हुन्छ। अनुमोदन भए के गर्नुहुन्छ?’
भट्टराईले संसदीय समितिबाट निर्णय हुदाँसमेत सर्वोच्चले कार्यान्वयनमा अटेर गरेको बताएका थिए। जवाफमा जबराले संसदीय समितिको निर्णयको सबैले सम्मान गर्नुपर्ने बताए।
‘म न्यायाधीशको हैसियतले र प्रस्तावित प्रधानन्यायाधीशको हैसियतले यो गरीमामय जनताको सार्वभौम अधिकार प्रयोग गर्ने गरीमामय समितिको निर्णयलाई सबैले मान्नुपर्छ र सम्मान गर्नुपर्छ भन्ने ठान्दछु’, जबराले भने, ‘यदि म प्रधानन्यायाधीश भएँ भने प्रधानन्यायाधीशका रूपमा गर्नु पर्ने समितिको सम्मानमा अलिकति पनि आँच आउन दिने छैन। म प्रतिबद्धता जाहेर गर्दछु।’
सुनावाइ समितिले गत साउन १८ गते जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय लिएको थियो। नेकपासहित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम जोशीलाई अस्वीकृत गर्न एक मत भएका थिए।