नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले न्यायपालिकाको बेथिति रोक्न बिहीबारबाट काम थालेको न्याय परिषद्ले जनाएको छ।
न्याय परिषदले बिहीबार सञ्चारकर्मीलाई पठाएको प्रेस नोटमा सूक्ष्म अनुगमन, निगरानी र गुनासा जाँचबुझ गर्न छानबिन समिति बनाइएको र त्यसले आजैबाट काम सुरू गरेको उल्लेख छ। न्याय परिषदको बिहीबार बैठकले उक्त निर्णय गरेको हो।
जिल्ला अदालत ललितपुरबाट अनुगमन सुरू गरिएको पनि न्याय परिषदले जनाएको छ। 'आजको निगरानी न्याय परिषद् सचिव नृपध्वज निरौलाको नेतृत्वमा गरिएको थियो। आगामी दिनमा चिनिएर वा नचिनिएरै पनि (अनुगमन क्रममा भेषभूषा बदलेरै) अनुगमन हुनेछ,' उक्त नोटमा उल्लेख छ।
त्यस्तै, जनकपुर उच्च अदालतमा पछिल्लो समय भइरहेका बेथिति रोक्न भन्दै सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश हरिकुमार पोखरललाई पठाउने निर्णय पनि परिषदले गरेको छ।
परिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहन्छन्। राणा प्रधानन्यायाधीश भएपछि पहिलोपटक बसेको बैठकले रिक्त रहेको मुख्य न्यायाधीश पदमा उच्च अदालत पाटनको हेटौँडा इजलासमा काम गरिरहेकी न्यायाधीश सुक्ष्मलता माथेमालाई सिफारिस गरेको छ।
'उनलाई वरिष्ठता, सक्षमता र कार्यकुशलताका आधारमा मुख्य न्यायाधीका लागि सिफारिस गरिएको' पनि न्याय परिषदले जनाएको छ।