दायाँ बायाँ सुरक्षाकर्मीको पहरामा प्रहरी भ्यानबाट ओर्ले, रेशमलाल चौधरी।
शिरमा ढाका टोपी। गलाभरि खादा। आँखामा रेबन चश्मा। मुहारमा मन्द मुस्कान।
डिल्लीबजारको सदरखोर जेलबाट बिहीबार सिंहदरबारस्थित संघीय संसद सचिवालय ल्याइँदा चौधरी यस्तै स्वरूपमा थिए।
कैलाली-१ बाट निर्वाचित सांसद हुन् उनी। झन्डै एक वर्षदेखि जेलमा छन्। संसद सचिवालयले बिहीबार बिहानै चौधरीलाई सपथ खुवाउने तयारी गरेको थियो। प्रक्रिया पूरा नभएपछि सपथग्रहण दिउँसो ३ बजेलाई सर्यो।
प्रहरीले उनलाई पुरानो प्रतिनिधिसभा हलमा पुर्याए। श्रीमती रञ्जिता श्रेष्ठ र छोरा सपथग्रहण हेर्न आएका थिए। संसदका मर्यादापालकले छिर्न दिएनन्। अर्का एक महिला सांसदले परिवारका सदस्यलाई छाडिदिन आग्रह गरिन्।
उनीहरू छिर्न पाए। रेशमले छोरालाई म्वाइँ खाए। छोरा बुबाको काखैमा गएर बसे।
रेशममाथि २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा हिंसा भड्काउन मुख्य भूमिका खेलेको आरोप छ। उक्त घटनामा प्रहरी एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।
फरार अभियुक्त रहँदा नै चौधरी राजपाबाट चुनाव उठेका हुन्। निर्वाचन आयोगबाट विजेता प्रमाणपत्र भने लिन सकेनन्।
उनले प्रमाणपत्र पाउन वारेसनामामार्फत् अदालतमा निवेदन दिए। अदालतले अस्वीकार गरिदियो। त्यसपछि चौधरीले आत्मसमर्पण गरे। जेल परेपछि पनि उनले सांसद पदको सपथ लिने प्रयास जारी राखे। जेलभित्रै आमरण अनसन बसे। गृहमन्त्री रामबहादुर थापाले जुस पिलाएर सपथ खुवाउने आश्वासन दिए।
तै निर्वाचित भएको दस महिनासम्म सपथग्रहण भएन।
राजपाले चौधरीको सपथग्रहणलाई राजनीतिक नारा बनायो। सपथ नखुवाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दियो।
अन्तत: बिहीबार उनको लामो प्रतीक्षाले मूर्तरूप लियो।
सपथग्रहणमा आएका राजपा नेतामध्ये केहीलाई चौधरीले नमस्कार गरे। केहीसँग अंगालो मारे। लगत्तै सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फे हलमा प्रवेश गरे।
महराले नेपालीमा सपथपत्र पढे। चौधरीले थारू भाषामा।
यो पनि हेर्नुहोस्:
जेलबाट सिंहदरबार आएका चौधरीले ‘राजकीय भूमिका निर्वाह गर्दा संविधान पालना गर्ने, पदको गोपनीयता कामय राख्ने’ सपथ खाए।
सभामुख महराले उनलाई सपथपत्रमा हस्ताक्षर गर्न भने। चौधरीसँग कलम थिएन। संसद सचिवालयका कर्मचारीले नै कलम उपलब्ध गराइदिए।
हस्ताक्षरपछि सभामुख महराले चौधरीसँग हात मिलाए। शुभकामना दिए। राजपा अध्यक्ष राजेन्द्र महतोले महरालाई माला दिए। महराले चौधरीलाई माला लगाइदिए। त्यसपछि राजपा नेताहरूले चौधरीलाई अबिरले रंगाइदिए। अनुहार पुरिने गरी माला पहिर्याए।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि चौधरीलाई बधाई दिए। संसदका महासचिव मनोहरप्रसाद भट्टराईले उनलाई सांसदको लोगो लगाइदिए। नेकपा संसदीय दलका सचेतक देव गुरुङले पनि बधाई दिए। चौधरीले जवाफमा भने, ‘कैलाली आन्दोलनमा हामी सँगै थियौँ। तपाईंहरूले पहिल्यै सपथ लिनुभयो। मेरो ढिला भयो।’
गुरुङ हाँसे।
सपथग्रहणमा नेपाली कांग्रेसका कोही उपस्थित भएनन्।
सपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै चौधरीले पत्रकारहरूसँग भने, 'मतदाताले मलाई न्याय दियो। अब न्यायालयले दिन बाँकी रह्यो।’
राजपा अध्यक्ष राजेन्द्र महतोले चौधरीको सपथग्रहणले जनमतको सम्मान भएको बताए।
‘ढिला गरी भयो,’ महतोले भने, ‘जनताले निर्वाचित गरेपछि रेशम सांसदको लोगो लगाउन हकदार थियो।’ संसदको अधिवेशन सुरु भए लगत्तै गत पुस ११ गते महतोले जनताले मत दिएको व्यक्तिलाई सपथ नखुवाएको भन्दै संसदमा आपत्ति जनाएका थिए। 'प्रचण्डले जनयुद्ध गर्दा दशौँ हजार मारिदाँ अपराधी नहुने, चौधरी अपराधी हुने' भन्दै संसदमा हुंकार गरेका थिए। उनले चौधरीको सपथ पछि पनि त्यही वाक्य दोहोर्याए। 'आन्दोलनकारीलाई अपराधी भन्न भएन', महतोले भने।
चौधरीले सपथग्रहण हलमा झन्डै एक घन्टा बिताए। पत्रकाहरुका प्रश्नमा जवाफ दिए। 'न्यायलयले न्याय दिनुपर्छ। दोषीले कारवाही भोग्नुपर्छ', मेरो जीवनमा मैले कहाँनेर डकैतीको काम गरेँ', चौधरीले भने, 'म सबैभन्दा सानो उमेरमा गोरखा दक्षिण बाहु प्राप्त गरेको मानिस हुँ।'
उनले टीकापुर घटनालाई राजनीतिक दुर्घटनाको संज्ञा दिए। 'राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रुपमा हुनुपर्छ', पत्रकारहरुसँग चौधरीले भने, 'टीकापुर घटना सामाजिक सञ्जालमा जिस्काउने घटना हैन। यो वर्गिय र जातीय भावनालाई ठेस पुगेको घटना हो।'
उनले गाउँमा जान थारुहरु डराइरहेको बताए। 'आज सयौँ बिघा जग्गा बाँझै छ', निर्वाचित सांसद चौधरीले भने, 'न्यायलयबाट न्याय चाहान्छौँ। भिख चाहान्नौँ।' उनले आफूलाई साढे तीन बर्षदेखि पुर्पक्षका लागि थुनामा राखिएको तर्क गरे। चौधरीले साढे तीन बर्ष भनेपनि उनी २०७४ को फागुन देखि यता मात्र जेलमा छन्। 'कानुनले भन्छ एक बर्ष भन्दा बढी थुनामा राख्न पाइन्न', चौधरीले पत्रकारसँग दुखेसो पोखे।
झण्डै पन्ध्र मिनेट पत्रकारहरुसँगको कुराकानीपछि उनलाई प्रहरीले बाहिर निकाल्यो। आफ्नो भ्यानमा चढायो। उनलाई फेरि डिल्लीबजार सदरखोर फिर्ता लगिँदै थियो।
'सांसदको सपथ लिएर जेल जाने नेपालको इतिहासकै पहिलो व्यक्ति मै हुँला,’ सांसदको लोगो लगाएर जेल जानुअघि चौधरीले प्रश्न गरे, 'सांसदलाई सपथ खुवाएर, लोगो लगाएर जेल पठाउन मिल्छ? के यो लोगोको सम्मान हो?’