सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाउन नसक्दा प्रश्नोत्तरको सामान्य विवादमा संसद बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीलाई प्रश्नोत्तर गर्न नपाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार संसदमा नाराबाजी गर्दै 'वेल' घेराउ गरेको हो। कांग्रेसको विरोधपछि पन्ध्र मिनेटका लागि स्थगित संसद बैठक पुस २५ सम्मलाई सरेको छ।
प्रधानमन्त्री ओलीले आइतबार संसदमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूची शुक्रबारै तय थियो। सहमतिअनुसार प्रधानमन्त्रीले आइतबार वक्तव्य दिने भएपछि कांग्रेसले प्रश्न सोध्न बैठकअघि नै सभामुखसँग समय मागेको थियो।
सभामुख महराले भने 'प्रधानमन्त्रीसँग समय कम छ' भन्दै थोरैलाई मात्र प्रश्न सोध्न दिने बताए।
‘प्रधानमन्त्रीलाई सबैले प्रश्न सोध्न खोजेका थिए। समय कम छ भन्ने भएपछि हामीले पाँच जनाको नाम दिएका थियौं,’ कांग्रेस सचेतक बालकृष्ण खाँडले सेतोपाटीसँग भने।
उनका अनुसार सभामुखसँगको सल्लाहमै कांग्रेसले पाँच जना सांसदको नाम बुझाएको थियो।
सभामुख महराले बैठकअघि नै प्रश्नोत्तरबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए। ओलीले भने ‘समय छैन, किन गर्नु प्रश्नोत्तर’ भन्दै टारिदिएको स्रोत बताउँछ। महराले यसबारे कांग्रेसलाई जानकारी गराएका थिएनन्। उनले प्रधानमन्त्रीको वक्तव्य सकिएपछि प्रश्नोत्तर नगरी बैठक अघि बढाउन खोजेका थिए। कांग्रेसले प्रश्न सोध्न पाउनुपर्ने अडान राखेपछि विवाद भयो।
कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिए। महराले कांग्रेस सांसदहरूको माइक खोलेनन्। कांग्रेसका मिनेन्द्र रिजाल र दिलेन्द्र बडुले बोल्न पटक-पटक समय मागे पनि महराले दिएनन्।
महराले पेलेरै अिघ बढ्न खोजेपछि कांग्रेस सांसदहरूले होहल्ला गर्दै टेबल ठटाए। त्यसपछि महरा सीमित सदस्यलाई प्रश्न सोध्न दिन तयार भए। कांग्रेस सांसदहरूले भने सबैलाई प्रश्न सोध्न दिनुपर्ने अडान राखे।
सीमित सदस्यलाई प्रश्न राख्न दिने भनेपछि नेमकिपाका प्रेम सुवालले पनि विरोध गरे। संघीय समाजवादी फोरमकी सरिता गिरी पनि प्रश्न सोध्न माग गर्दै उठिन्।
सभामुख महराले कांग्रेसका मिनेन्द्र रिजाललाई बोल्न समय दिए। उनको माइक भने खोलेनन्। रिजालले सबैलाई प्रश्न सोध्न दिनुपर्ने अडान कायम राखे।
महराले त्यसपछि ‘प्रश्नोत्तर गर्न अनुमति भएन’ भन्दै चेयरबाट घोषणा गरिदिए।
यतिबेलासम्म बसेको ठाउँबाट नउठेका कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार र अर्का नेता प्रकाशमान सिंह पनि उठे। लगत्तै कांग्रेस सांसदहरूले 'वेल' घेराउ गरे।
सभामुख महराले सरकारसँग मिलेमतो गरी बोल्न समय नदिएको भन्दै उनीहरूले नाराबाजी गरे। नाराबाजीबीच महराले निवृत्तीभरण कोष विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्न अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई अनुमति दिए। दाहालले प्रतिवेदन पढुञ्जेल कांग्रेस सांसदहरूले नाराबाजी र होहल्ला गरिरहे। कांग्रेसले वेल घेराउ गरेपछि महराले बैठक स्थगित गरे।
कांग्रेस सांसद गगन थापाले सरकारसँगको मिलेमतोमा सदनलाई सत्तापक्षको छाया बनाउन खोजिएको आरोप लगाएका छन्। ‘संसदको रोष्ट्रमबाट प्रधानमन्त्री राष्ट्र निर्माणमा मिलौं भन्ने,’ थापाले बैठकपछि पत्रकारहरूसँग भने, ‘अनि हुकुमी शैलीमा सदन चलाउन खोज्ने?’
नेकपाका प्रमुख सचेतक देव गुरुङले भने प्रधानमन्त्रीसँग धेरै प्रश्नको जवाफ दिने समय नभएकाले संसद बैठकमा प्रश्नोत्तर सम्भव नभएको बताए।
‘सीमित प्रश्नका लागि सभामुख तयार हुनुहुन्थ्यो,’ गुरुङले भने, ‘धेरै प्रश्नको जवाफ दिने समय प्रधानमन्त्रीसँग थिएन।’
कांग्रेस प्रमुख सचेतक खाँडले पुस २५ गतेको बैठकमा पनि प्रधानमन्त्रीले जवाफ नदिए बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्।