प्रदेश ५ ले प्रदेशसभा सचिवालयका लागि खरिद गरेका सवारी साधनमा भएको अनियमितता सम्बन्धमा प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ।
प्रदेशसभाका विभिन्न समितिका संयोजक र संसदीय दलका मुख्य सचेतकका लागि खरिद गरिएका सवारी साधनमा आर्थिक चलखेल भएको समाचार सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको हो।
सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले गाडी खरिदमा सार्वजनिक लेखा समितिको गम्भीर ध्यानाकर्षण भएको सेतोपाटीलाई बताए।
‘गाडी खरिदमा आर्थिक अनियमितता भएको समाचार सार्वजनिक भएपछि हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले भने,‘सोमबार बसेको समितिमा यस विषयमा व्यापक छलफल गरी गाडी खरिदसम्बन्धी फाइल समितिमा पेश गर्न निर्देशन दिएका छौं। बजारमा पाइनेभन्दा बढी मूल्य किन हालियो? योभन्दा लज्जाको विषय केही हुँदैन,’ सभापति चौधरीले भने।
सभापति चौधरीले सोमबार बसेको बैठकमा लामो छलफल गरेर संसद सचिवालयको मात्र होइन प्रदेश सरकारका विभिन्न मन्त्रालयका लागि खरिद गरिएका गाडीमा समेत शंका उब्जेकाले प्रदेश ५ का लागि खरिद गरिएका गाडीको सम्पूर्ण फाइल समितिमा पेश गर्न निर्देशन दिएको बताए ।
उनले प्रदेशसभा सचिवालयले खरिद गरेका कतिपय गाडीहरूमा समस्या आइसकेको बताए।
‘महंगो मूल्यमा किनिएका अधिकांश गाडीको सकर गइसकेको छ,’ चौधरीले भने।
सभापति चौधरीले पुस २७ गते बस्ने समिति बैठकमा गाडी खरिदका फाइल हेरिने बताए।
चौधरीले समितिले यो विषयलाई गम्भीर रूपमा लिएको र सोही अनुरूप सवारी साधनका विज्ञ र सरोकारवाला अन्यलाई समेत छलफलमा बोलाइने र आवश्यक परे छानबिनका लागि उपसमितिसमेत गठन गरिने जानकारी दिए। सार्वजनिक लेखा समितिमा रहेका सभापतिसहित १२ जना सदस्य मध्ये ८ जना नेकपा निकट छन्।
प्रदेशसभा सचिवालयले सार्वजनिक सूचना जारी गरी सफल अटो इन्टरनेशनल बुटवलको समन्वयमा सिप्रदी ट्रेडिङ प्रालि काठमाडौंबाट १३ वटा गाडी खरिद गरेको थियो। सफल अटो नेकपाका मुख्य सचेत भूमिश्वर ढकाल साझेदार रहेको कम्पनी हो।
यो पनि पढ्नुस् :