प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार बनाउने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस अघिनै गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको नेता मिनेन्द्र रिजालले सेतोपाटीलाई जानकारी दिए।
यसका लागि मन्त्रालय रोजेर नाम पेश गर्नसमेत सांसदहरुलाई कांग्रेसले आग्रह गरेको छ। रिजालका अनुसार एक जना सांसदले बढीमा तीन वटासम्म मन्त्रालय रोजेर नाम दिन सक्नेछन्।
यसअघिकै छाया सरकार बनाउने निर्णयलाई आज बसेको संसदीय दलको बैठकले कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो,’ उनले भने, ‘सभापतिको नेतृत्वमा हुने छाया सरकारका लागि एक जनाले तीन वटा मन्त्रालय रोजेर नाम दिने सक्नेछन्। त्यसका लागि सात दिनको समय दिइएको छ।’
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १० महिनापछि नेपाली कांग्रेसले छाया सरकार गठनको तयारी थालेको हो। प्रमुख प्रतिपक्षीको कांग्रेसले ओली नेतृत्वमा सरकार बने लगत्तै छायाँ सरकार गठन गर्ने घोषणा गरेको थियो।
सरकारको कामकारबाहीको निगरानी गर्न संसदीय दलको विधानमै छाया सरकारको व्यवस्था गरेको छ। कांग्रेसले भने सरकार गठन भएको १० महिनापछि मात्रै छाया सरकारका बनाउने तयारी गरेको हो। छाया सरकार बनेपछि छाया मन्त्रीले आफूले पाएको मन्त्रालयको काम कारबाहीको निगरानी गर्नुपर्ने छ। आफूले गरेको निगरानीकै आधारमा संसदमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्नेछन्।