गण्डकी प्रदेश सरकारले माघ १ गते माघे संक्रान्ती र माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले थारु तथा मगर समुदायको विशेष चाड माघी र अन्यले मनाउँदै आएको माघे संक्रान्तीलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
गण्डकी प्रदेशमा रहेका सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने उनले बताए। प्रदेश ५ सरकारले पनि माघीको अवसरमा बिदा दिएको छ।