विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी छाडेर नयाँ दल दर्ता प्रक्रियामा लागेका पूर्वसंयोजक उज्वल थापालाई फेरि एक भएर सँगै यात्रा गर्न आग्रह गरेका छन्।
पार्टी कार्यालयमा शनिबार पत्रकारहरूमाझ संयोजक मिश्रले कुनै आग्रह र पूर्वाग्रह नभएकोले देश बनाउन सँगै हिँड्नुपर्ने बताए।
‘कुनै आग्रह, पूर्वाग्रह छैन। आउनुस् सँगै हिँडौं,’ संयोजक मिश्रले भने, ‘संवाद नगरी हुँदैन। नजानेको यात्रामा सँगै हिँड्दा हाम्रा तर्फबाट पनि कमजोरी भयो होला, छोडेर जानुभएका साथीहरूबाट पनि कमजोरी भयो होला।’
सँगै हुँदा देश र बाहिर बस्ने साथीहरू उत्साहित भएको र अहिले छाडेर जाँदा उत्साहमा चिसोपन आएको मिश्रले बताए।
नयाँ पार्टी दर्ता गर्न लागेकोमा मिश्रले थापालाई शुभकामना दिएका छन्।
‘अहिले छुट्टिएको भए पनि हेरिराख्नुस् देश रूपान्तरण गर्ने हामी नै हुने छौं,’ मिश्रले दाबी गरे, ‘कुनै बिन्दुमा फेरि एक हुन्छौं।’
उनले अब पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने बताए।
पार्टी आफ्नो मार्गबाट विचलित नभइकन अगाडि बढ्ने उनको भनाइ छ।
‘हामी मूल्य मान्यतासहित अगाडि बढ्नेछौं। विधि र प्रक्रियासहित संगठन विस्तारमा लाग्नेछौं। सदस्यता विस्तार र नीतिपत्र बनाउन लाग्छौं,’ उनले भने।
प्रमुख राष्ट्रिय मुद्दाहरूमा हस्तक्षेप गर्ने गरी पार्टीलाई अघि बढाउने उनले बताए।
‘पार्टी फुटबाट हामी दुखी छौं तर हाम्रो यात्रा अवरूद्ध हुँदैन,’ उनले भने, ‘देशभरि राजनीतिक संगठन पूर्वाधार निर्माण गर्छौं।’
राजनीतिक यात्रालाई सशक्त रूपमा अगाडि बढाएर लक्ष्य हासिल गरेरै छोड्ने उनले बताए।
पूर्वसंयोजक थापाले पेश गरेको प्रतिवेदनमाथि सोमबार छलफल गर्न केन्द्रीय समिति बैठक बोलाए पनि पत्तै नदिइ पार्टी छाडेकोमा आफू आश्चर्यमा परेको थापाले बताए।