श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले केही दिनमा प्रधानमन्त्री स्वरोजगारी कार्यक्रम अन्तरगत लाखौंलाई रोजगारी दिने बताएका छन्।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले रोजगारीका लागि काम र जनशक्तिलाई जोड्ने गरी सरकारले प्रणालीको विकास गर्न लागेको बताए।
मन्त्री विष्टले युवा जनशक्ति वैदेशिक रोजगारमा पलायन हुने अवस्था निरुत्साहित गर्ने गरी सरकार रोजगार सृजनका काममा लागेको बताए।
उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट रोजगार सृजनाका लागि सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार केन्द्र स्थापना गरी रोजगार र बेरोजगारको तथ्यांक निकाल्न लागेको बताए।
उनले देशलाई छिट्टै खाद्यान्नमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रमा रोजगारी दिन लागेको बताए।
उनले अबको ५ वर्षभित्रै वैदेशिक रोजगारीमा जाने बाध्यकारी अवस्था अन्त्य गर्ने पनि सुनाए।
शिक्षा, सीप, दक्षता अभावमा नेपाली युवा जनशक्ति कठिन र जोखिमयुक्त अवस्थामा रोजगारीमा जान बाध्य भएको उनको भनाइ थियो। उनले श्रम गर्ने व्यक्तिहरू अपमानित हुनुपर्ने र श्रम नगर्ने व्यक्तिहरू रातारात धनी बन्ने प्रवृत्तिलाई परिर्वतन गर्दै कामको सम्मान हुने वातावरण ल्याउने बताए।