प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश मन्त्रीले सचिव कुटेको घटनालाई सामान्यीकरणको प्रयास गरेका छन्। सचिव कुट्ने मन्त्रीलाई के कारबाही गर्नुहुन्छ भन्ने सेतोपाटीको प्रश्नमा मुख्यमन्त्री राउतले ‘कुटेको तपाईंले देख्नु भएको छ’ भन्दै प्रतिप्रश्न गरे।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झामाथि आइतबार दिउँसो हातपात गरेका थिए।
आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले हातपात गरेको सचिव झाको आरोप छ। मेडपा नामक योजना आफूले भनेको एनजिओलाई नपारेको भन्दै मन्त्रीले कुटपिट गरेको सचिव झाले दाबी गरेका छन्। उनले आफूलाई कुट्ने मन्त्रीलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
यो पनि पढ्नुस्: ढोका लगाएर कुट्न थालेपछि बच्न बाहिर निस्किएँ : सचिव झा
मुख्यमन्त्री राउतले भने घटना सामुसम भैसकेको दाबी गरे।
‘घटना सामसुम भैसक्यो’, राउतले भने, ‘तपाईंहरू तिललाई पहाड नबनाउनुहोस्।'
उनले घटना सामान्य विवादमात्र भएको बताए।
‘सचिवले नै केही भएको छैन भनिसक्नुभयो’, राउतले भने, ‘उहाँले केही भएको छैन भन्नुभयो।'
मन्त्रीको यस्तो व्यवहारले कर्मचारीको मनोबलमा कस्तो असर पर्छ भन्ने प्रश्नमा राउतले कुनै जवाफ दिएनन्।
‘केही भएको छैन’, उनले भने।
घटना सामसुम भइसकेको दाबी गरेका मुख्यमन्त्री राउतले घटनाको छानविन गर्ने बताएका छन्।
‘छानविन समिति बनाउँछौं’, उनले भने। मन्त्री यादव र मुख्यमन्त्री राउत संघीय समाजवादी पार्टीका हुन्।
यो पनि,
कार्यकक्षमा बोलाएर प्रदेश मन्त्रीले हाने सचिवलाई झापड