पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्न लागेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
पार्टीका पूर्वसभापतिहरूको नाममा खोलिएका अस्पतालहरू सरकारले विघटन गर्न लागेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाए।
तनहुँमा गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल नेपाली कांग्रेसको सरकारले सञ्चालनमा ल्याएको थियो।
स्वास्थ्य मन्त्रालयले ११ अस्पताललाई केन्द्र सरकार मातहत राख्न प्रस्ताव गरे पनि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ वटालाई मात्र व्यवस्थापन समिति गठन गर्ने बाटो खोलेको हो।
मन्त्रिपरिषदले गिरिजा र सुशीलको नाममा खुलेका अस्पताललाई भने केन्द्र अन्तर्गत राखेको छैन। ‘मन्त्रिपरिषद्ले कोइरालाहरुको नाममा रहेको दुइटा अस्पताल छाडेर ९ अस्पताललाई गठन आदेश दिएछ,’ बरिष्ठ नेता पौडेलले भने, ‘सरकार दुई महत्वपूर्ण अस्पताल विघटन गर्दैछ। हामी कुनै हालतमा विघटन हुन दिन्नौं।’
तनहुँको दुलेगौडास्थित बेलचौतारामा ३० शैय्याभन्दा धेरै क्षमताको गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र सञ्चालनमा छ। ‘गण्डकी प्रदेशकै मुख्य अस्पतालको रुपमा विकास गर्ने योजनाअनुसार अस्पतालको नाममा सात सय रोपनीभन्दा बढी जमीन जुटाइसकियो,’ पौडेलले भने।
सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा यी दुइटा अस्पतालका लागि भारतीय पक्षबाट सहयोग गर्ने बचन प्राप्त भए पनि प्रधानमन्त्री केपी ओलीले पहल नगर्दा सहयोग नआएको पौडेलले जिकिर गरे।
पूर्वप्रधानमन्त्रीका नाममा खुलेका अस्पताल विघटन गर्न खोज्नुको कारण प्रधानमन्त्रीलाई मंगलबार भेटेरै सोध्ने पौडेलले बताए। ‘हामी सडकदेखि सदनसम्म संघर्ष गर्छौं, यी अस्पताल विघटन गर्न हुन्न,’ उनले भने, ‘प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा छु।’
सरकारले प्रतिपक्षीको सुझाव नमानेर बेढंगका साथ हिँडिरहेको पनि उनले बताए। ‘सरकार हाम्रो सुझाव किन मान्दैन?,’ पौडेलले भने, ‘अस्पताल विघटन गरेर के सन्देश दिन खोजेको? कांग्रेसले यसलाई गम्भीर रुपमा लिएको छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले ११ मध्ये ९ अस्पताल मात्रै केन्द्र सरकार अन्तर्गत राख्ने निर्णय भएको पुष्टी गरे।
‘दुइटा अस्पतालबारे मन्त्रिपरिषदको निर्णय मौन छ, केन्द्र वा प्रदेश कसले हेर्ने सरकारले पछि केही निर्णय गर्ला,’ श्रेष्ठले सेतोपाटीसँग भने।
स्वास्थ्य मन्त्रालयका सचिवले कोइरालाहरुको नाममा खुलेका दुई अस्पताल विघटनको प्रक्रिया अघि बढाएको कांग्रेसको आरोप छ।