माघी पर्वको अवसरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले चियापान तथा शुभकामना आदानप्रदान गरेका छन्।
मुख्यमन्त्री निवासमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशका मन्त्रीहरू, सांसद, विपक्षी दलका नेता, सचेतक, कर्मचारी, बुद्धिजीवी, उद्योगी व्यवसायी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
सो अवसरमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले माघी पर्व सबैको साझा पर्वको रूपमा विकास भएकाले प्रदेश सरकारले बिदा दिएको बताए।
उनले प्रदेश नं. ५ लाई साँस्कृतिक पर्व मनाउने प्रदेशका रूपमा बनाउन सकिने बताए।
चियापान कार्यक्रममा थारु संस्कृति झल्कने नृत्यहरू समेत प्रस्तुत गरिएको थियो। सरकारले माघी पर्वकै अवसरमा दुई दिन सार्वजनिक बिदा समेत गरेको छ।
यसअघि नै मन्त्रिपरिषद्को बैठकले थारु समुदायको महत्वपूर्ण पर्वको अवसरमा माघ १ र २ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। प्रदेश ५ का दाङ, बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा थारु समुदायको बाक्लो बसोबास रहेको छ।
थारु समुदायले माघीलाई आफूहरूको सबभन्दा ठूलो पर्वको रूपमा मनाउने गर्दछन्।