भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यन मन्त्री सुरेश प्रभुले नेपाललाई थप एयर रुट दिने विषयमा सकरात्मक रहेको बताएका छन्।
ग्लोबल एभिएसन समिटमा सहभागि हुन मुम्बइ पुगेका नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगको छलफलमा मन्त्री प्रभुले अन्तर मन्त्रालय समन्वयको काम भैरहको बताएका हुन्। गत असारमा थप तीन हवाइ रुट दिन सहमति जनाएपनि भारतले पछि उक्त रुट दिन आनाकानी गर्दै आएको छ।
पर्यटन मन्त्री अधिकारीले भेटमा नेपालको उड्ययन क्षेत्र विकासको चरणमा रहको उल्लेख गर्दे भारतले कस्तो सहयोग गर्न सक्छ भनेर जिज्ञासा राखेका थिए।
जवाफमा भारतीय मन्त्री प्रभुले भारत हवाई रुट उपलब्ध गराउने विषयमा सकारात्मक रहेको बताएका थिए। सेतोपाटीसँगको कुराकानीमा मन्त्री अधिकारीले भेटवार्ता सकारात्मक रहेको बताए। ‘पूर्ण सकरात्मक कुराकानी भयो’, अधिकारीले मुम्बइबाट सेतोपाटीसँग भने, ‘छिट्टै हवाई रुटबारे काम गर्ने सहमति भएको छ।’
भारतीय पक्षले हवाई रुटका विषयमा देशभित्रै अन्तर मन्त्रालय छलफल चलिरहेको जनाएको छ। भेटमा सहभागि पर्यटन मन्त्रालयका सह-सचिव बुद्धिसागर लामिछानेले नेपालको मागलाई भारतीय पक्षले सकरात्मक रुपमा हेरिराखेको जवाफ दिएको बताए। ‘उहाँहरुले आफूहरुले पहलकदमी लिएर काम गर्ने बताउनु भएको छ’, लामिछानेले भने, ‘यसलाई नेपालले सकरात्मक रुपमा लिएको छ।’
नेपाललाई सिमरा बाहेक थप तीन ठाउँबाट एयररुट दिन असार २ गते भारतले सैद्धान्तिक सहमति जनाएको थियो।
पूर्वमा विराटनगर र जनकपुरबाट दुईतर्फी प्रवेशविन्दबाट दुईतर्फी उडान गर्न सहमति त्यतिबेला भएको थियो। त्यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै निश्चित उचाईमा रहेर नेपालले प्रवेश पाउने सहमति भएको थियो। भारतले पटनामा आफ्नो सैन्य बेस रहेको भन्दै उक्त क्षेत्रबाट उडान दिन नसकिने जनाउँदै आएको थियो। हवाई रूटलाई दुईतर्फी बनाउने विषयमा सुरक्षा मूल्याङ्कन गर्ने सहमति भएपनि भारतीय पक्ष अन्तिम समयमा पछाडी हटेको थियो।
मुम्बइमा मन्त्री अधिकारीले अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)का प्रमुखसँग पनि भेटवार्ता गरेका छन्। ‘भेटवार्ताहरु उपलब्धिमुलक भएका छन्’, लामिछानेले सेतोपाटीसँग भने।