नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधारका लागि १६ औं पटक आमरण अनसन बसेका डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। डाक्टर केसीसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गर्न प्रधानमन्त्री केपी ओलीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने थापाले बताए।
‘सम्माननीय प्रधानमन्त्रीजीले मनमा कुनै आग्रह नराखीकन पहल कदमी गरेर हिजो डाक्टर केसीसँग भएको सम्झौताको आधारमा विधेयकलाई संशोधन गर्नुपर्छ,’ थापाले बिहीबार पत्रकार सम्मेलन गरेर भने, ‘चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीजीले नै आयोग बनाउने, उहाँकै निर्णयबाट छानिएको मान्छेबाट आयोगको नेतृत्व गर्ने र त्यसको निर्णयअनुसार अघि बढ्न मार्ग प्रशस्त गर्नुपर्छ।’
अड्डा, अदालत, अख्तियार, सरकार र पार्टीहरूले चिकित्सा क्षेत्र बिगारेर गरेको पाप पखाल्ने हिम्मत प्रधानमन्त्री ओलीले देखाउनु पर्ने थापाले बताए।
‘चिकित्सा शिक्षा गुणस्तरीय बनाउनुपर्छ भनेर लागेका मान्छेलाई हामी दुरकार गर्छौं भने योभन्दा ठूलो खतरा केही हुँदैन,’ थापाले भने, ‘चिकित्सा शिक्षा राम्रो बनाउँछु भन्नेविरूद्ध अड्डा, अदालत, सरकार, अख्तियार, पार्टी सबै लाग्यौ यो लाजको विषय हो।’
डाक्टर केसीसँग १५ पटकसम्म सम्झौता भए पनि कार्यान्वयन नभएको थापाले बताए।
‘डाक्टर केसी अनसन बस्छन् हामीलाई सम्झौता गर्न बाध्य बनाउँछन्। हामी सम्झौता गर्छौं,’ थापाले भने, ‘तर मौका पाएपछि केसीसँगका सम्झौता तोड्छौं। किनकी हामीलाई चित्त बुझेको हुँदैन। यो भन्दा उदेकलाग्यो अरु के हुन्छ?’
चिकित्सा क्षेत्रलाई ध्वस्त बनाउने र आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक दल लागी परेको उनले बताए।
‘केसी १६ औं पटक अनसन बस्दा हामीलाई लाज लाग्नुपर्ने हो। मलाई पनि लाज लाग्ने विषय हो। म लज्जाबोधका साथ यहाँ आएको छु,’ उनले भने।
चिकित्सा शिक्षा सुधारका लागि सरकारमा बस्ने, प्रतिपक्षमा बस्ने, हिजो सरकार चलाएका र भोलि सरकार चलाउँछु भन्ने सबैले गम्भीरतापूर्वक लिनुपर्ने थापाले बताए।
‘चिकित्सा शिक्षा गुणस्तरीय बनाउन नसक्नुमा हिजो सरकारमा बसेका र आज सरकार चलाइरहेका र भोलि सरकार चलाउँछु भन्नेका लागि लाज लाग्नुपर्ने कुरा हो,’ थापाले भने, ‘देशको चिकित्सा क्षेत्र बिगारेर हामी कति सजिलै उपचार गर्न विदेशका अस्पताल धाउँछौं।’
डाक्टर केसी इलाममा अनसन बसेको बिहीबार नौ दिन पुगेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।
‘केसीको स्वास्थ्य चिन्ताजनक छ। कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ। उहाँलाई केही भइहाले सरकार, मन्त्रीलाई मात्रै होइन सिंगो नेपालीलाई लाजको विषय हुन्छ,’ उनले भने, ‘लाजमात्र होइन, यति ठूलो घाउ र चोट हुन्छ त्यो कहिल्यै बिसेक हुँदैन।’
केसीका माग र चिकित्सा क्षेत्र सुधारका लागि प्रतिष्ठाको विषय नबनाई प्रधानमन्त्री ओलीले पहल कदमी लिनुपर्ने थापाले बताए।
‘यो कुनै पार्टीको विषय होइन। केसीको जीवन रक्षा गर्ने कुरा हाम्रो राष्ट्रिय सम्मानका लागि पनि आवश्यक छ, चिकिसा शिक्षा विधेयक संशोधन गरेर हामीले गरेका पाप पखाल्ने सुवर्ण अवसरको नेतृत्व प्रधानमन्त्रीले गर्नुपर्छ,’ थापाले भने।
यो पनि पढ्नुस् :