प्रदेश ५ प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीहरु बारे सार्वजनिक लेखा समितीले छानविन शुरु गरेसँगै उपलब्ध गराईएका गाडीहरु फिर्ता हुने क्रम बढेको छ।
शुक्रबार नेपाली कांग्रेस प्रदेशसभाका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले गाडी फिर्ता गरेका छन्।
प्रदेशसभाका विभिन्न समितिका सभापति तथा दलका संसदयि दलका नेताहरुलाई गाडी उपलब्ध गराउने प्रदेश सरकारको निर्णयसँगै प्रदेशसभा सचिवालयको नेता पोखरेललाई गत महिना लु.१ झ ४४७ नं. को टाटा स्ट्रोम गाडी उपलब्ध गराएको थियो।
नेता पोखरेलले गाडी खरिदमा आर्थिक अनियमितता भएको भन्दै लेखा समितिले छानविन गरिरहेको र समितिका सभापतिले समेत गाडी फिर्ता गरेको अवस्थामा आफुले प्रयोग गर्नु उपयुक्त नभएको भन्दै गाडी फिर्ता गरेका हुन्।
पोखरेलले प्रदेशसभा सचिव दुर्लभ कुमार पुनलाई उक्त गाडीको चावी र व्लु बुक बुझाएका हुन्। शुक्रबार दिउँसो पौने ३ बजे गाडी चढेर संसद सचिवालय पुगेका नेता पोखरेल गाडी फिर्ता गरेपछि ना. १ ह ६८१६ नं. को अटो रिक्सा चढेर घर फर्किएका थिए।
यसअघि गत पुस २७ गते सार्वजनिक लेखा समितिका सभापती डिल्ली बहादुर चौधरीले पनि लु १ झ ४४१ नं. को गाडीको चावी फिर्ता गरेका थिए ।
प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापती, दलका मुख्य सचेतक, प्रदेशसभा सचिव लगायतलाई भन्दै हालै १३ वटा गाडी खरिद गरेको थियो।
गाडी खरिद गर्दा आर्थिक अनियमितता भएको आशंका सहितका समाचार सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिले खरिद गरिएका सबै गाडीहरुको फाईल झिकाएर छानविन गरिरहेको छ ।
खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेल (नेकपा)को संयोजकत्वमा उपसमिति गठन गरेर छानविनको जिम्मेवारी दिइएको थियो ।
उक्त उपसमितिमा कांग्रेसका बैजनाथ जयसवाल र राष्ट्रिय जनता पार्टीका कल्पना पाण्डे सदस्य रहेका छन् । गाडीका कागजात छानविनको लागि उपसमितिको बैठक शुक्रवार पनि बसेको थियो।
उपसमितिको बैठकपछि संसद सचिवालयबाट बाहिरीदै गर्दा पत्रकारहरुसंग कुरा गर्दै सदस्य जयसवालले गाडी खरिदमा केहि त्रुटीहरु फेला परेको बताए ।
उनले फेला परेको त्रुटि के हो भन्ने बारे भने खुलाउन चाहेनन् । ‘पर्सि ६ गते लेखा समितिको बैठक बस्दै छ, त्यो बैठकमा उपसमितिको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउँदै छौं,’ उनले भने ।