नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन्।
काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश कार्यसमिति गण्डकीले शनिबार पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उनले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताको खिलापमा कर्मचारी, प्रहरीलगायतमा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको बताए।
सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको बताए। सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको भनाइ उनको छ ।
‘वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ,’ सभापति देउवाले भने, ‘हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्छ।
देउवाले सरकारविरूद्ध आन्दोलनको तयारी थाल्न कार्यकर्तालाई आह्वान गरे।
सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै उनले प्रजातन्त्रका लागि ओली सरकारविरूद्ध आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।
कर्मचारीतन्त्र स्वतन्त्र हुनुपर्ने भन्दै उनले कर्मचारीमाथिको हस्तक्षेप नरोके सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए।
उनले सरकारले कर्मचारी समायोजनमा हस्तक्षेप गरेर नियन्त्रण गर्न खोजेको भन्दै राजनीतिकरण गर्न खोजे सरकारविरूद्ध सडकमा जानुपर्ने बताए।
जिपी कोइराला श्वासप्रश्वास केन्द्रको नाम हटाउन लागेको भन्दै उनले सरकारले अराजनीतिक गतिविधि देखाएको गुनासो गरे।
‘गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको नामसँग पनि सरकारलाई एलर्जी छ। हाम्रा महान नेताहरूको नाम पनि राख्न चाहँदैनन्,’ उनले भने,‘आज नेताको नाम हटाउने र भोलि प्रजातन्त्र हटाउने षड्यन्त्र भैरहेको उनले बताए।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले विकास भत्काउने र इतिहास मास्ने काम गर्न थालेको आरोप लगाए।
उनले लोकतन्त्र जोगाउन कांग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिए।
नेता पौडेलले स्थिर सरकार भए पनि शान्ति सुरक्षा, सुशासन र विकासमा असफल भइसकेको बताए। सरकारले संवैधानिक निकाय लगायत सबै क्षेत्रमा सरकारले हस्तक्षेप गर्न थालेको बताए।