सरकारले एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरू गरेको छ।
अनलाइनबाट फारम भरेका ७७ हजार जना निजामती कर्मचारीको ‘डाटा भेरिफाइ’ गरेपछि कर्मचारी समायोजन सुरू गर्ने मन्त्रालयको तयारी छ। ‘समायोजनमा आवेदन दिएका कर्मचारीको डाटा भेरिफाइ हुँदैछ। यो काम सक्न केही दिन लाग्छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले भने, ‘डाटा भेरिफाइ गरेपछि समायोजन सुरू गर्छौं।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका अनुसार सचिव र सहसचिव समायोजन सुरूमा गरिन्छ। यी दरबन्दी संघमार्फत् छन्।
मन्त्रालयले फागुन ३ गतेभित्र कर्मचारी समायोजन सक्ने गरी काम गरेको अधिकारीले बताए।
नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको फागुन ३ मा एक वर्ष पुग्छ। सोही दिनलाई आधार मानेर कर्मचारी समायोजन सिध्याउने गरी तीव्र गतिमा काम भइरहेको उनले बताए।
‘सरकार बनेको फागुन ३ मा एक वर्ष पुग्छ। त्यही मितिलाई आधार मानेर कर्मचारी समायोजन सक्छौं,’ अधिकारीले सेतोपाटीसँग भने।
मुलुकमा ९० हजार निजामती कर्मचारी छन्। मन्त्रालयले निकालेको २१ दिने सूचना अटेर गरी समायोजन प्रक्रियामा भाग नलिने कर्मचारीलाई पनि समायोजनमा पठाइन्छ।
‘समायोजनमा सहभागी कर्मचारीको डाटा भेरिफाइ गर्ने र फारम नभरेका कर्मचारीको विवरण निजामती किताबखानाबाट मगाएर समायोजनमा पठाइन्छ,’ अधिकारीले भने, ‘फारम नभर्ने कर्मचारी पनि समायोजनमा जानुपर्छ।’
फारम नभर्ने कर्मचारीको विवरण निजामती किताबखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिन्छ।
‘कर्मचारीले फारममा आफूले रोजेको ठाउँ उल्लेख गरेका हुन्छन् सोहीअनुसार उनीहरूलाई खटाउने हो,’ उनले भने, ‘फारम नभर्ने कर्मचारीको जेष्ठतालगायत हेरेर समायोजन गर्छौं।’
१३ हजार कर्मचारीले समायोजन फारम भरेका छैनन्। कर्मचारी समायोजन अध्यादेशले वृत्तिविकासको ढोका बन्द गरेको भन्दै कर्मचारी आन्दोलनमा थिए।
निवृत्तिभरण हुन एक वर्ष मात्रै बाँकी रहेका कर्मचारीलाई समायोजनमा नपठाउने अध्यादेशमै उल्लेख छ।
सरकारले स्वीकृत गरेको दरबन्दीअनुसार संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय तीन कर्मचारी समायोजन हुनुपर्छ।
आवश्यकताअनुसार कर्मचारी नहुँदा स्थानीय तह र प्रदेशमा कार्यसम्पादन हुन नसकेको भन्दै जनप्रतिनिधिले छिटो कर्मचारी समायोजन गर्न आग्रह गर्दै आएका छन्।
समायोजनका लागि सहभागी हुन सरकारले पुस ११ मा सूचना निकालेको थियो।