प्रदेश ५ प्रदेशसभाका मर्यादापालकले पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित भएको गुनासो गर्न थालेका छन्।
प्रदेश सांसद सुविधाभोगी बन्दै गएको र सचिवालयले बजार मूल्यभन्दा बढि मूल्यमा सवारी साधन खरिद गरी आलोचित बन्दै गएको अवस्थामा मर्यादापालकको भने यस्तो गुनासो आएको हो।
प्रदेश सरकार गठन भएको झण्डै एक वर्ष पुग्न थाले पनि आफूलाई पोशाक परिवर्तन गर्ने समेत कुनै कक्ष नभएको र सचिवालयले तल्लो दर्जामा राखेको उनीहरूले गुनासो गरे।
४३ जना मर्यादापालकको दरबन्दी रहेको प्रदेशसभामा उनीहरुको लागि ड्रेसिङ रूमसमेत छैन। मर्यादापालक भुईमै सुत्न बाध्य छन्।
संसद सचिवालयले बुटवल उद्योग वाणिज्य संघको भवन अभाव भएको भन्दै मानव धर्म सेवा समाज, बुटवल महिला जेसिज र पेट्रोलियम डिलर्स एशोसिएसनको भवनसमेत केही महिनादेखि प्रयोग गर्दै आएको छ। तर, पछि थप गरिएका भवनमा समेत विभिन्न विषयगत समितिका कार्यालय राखिएका छन्।
नेपाल प्रहरीबाट सह मर्यादापालकको रूपमा कार्यरत प्रकाश मल्लले एउटा सानो कोठामा पोशाक परिवर्तन गरेपछि सिँढीमा गएर ऐना हेर्नुपर्ने बाध्यता रहेको बताउँछन्।
मर्यादापालकको कोठामा ऐना उपलब्ध गराउन पटकपटक लेखेर दिए पनि उपलब्ध नगराईएको उनले गुनासो गरे।
पोशाक परिवर्तन गरेपछिका कपडा राख्ने ठाउँ नहुँदा कोठाको भुईमा यत्रतत्र फाल्नुपरेको उनले गुनासो गरे। ‘हामी प्रदेशसभाको सुरक्षाको लागि नेपाल प्रहरीको तर्फबाट आएका हौं, सेवा सुविधा नभए पनि व्यवस्थित रूपमा कार्यालय सञ्चालन गर्ने व्यवस्थापन मिलाईदिनू पर्ने हो’, उनले भने, ‘सिनियर प्रहरी अधिकृतलाईसमेत बस्ने कुर्चि छैन, दिनभरी गेटमा प्रहरी जवानसँगै बसेर जानुपर्छ,’ उनले गुनासो गरे ।
आफूहरूको समस्याबारे प्रदेशसभा सचिवालयमा पटकपटक जानकारी गराए पनि सम्बोधन नभएको उनले बताए। ‘संसद सचिवालयमा ३ जना सचिव फेरिनुभयो कार्यालयको तलमाथि गर्दा हाम्रो समस्या देख्नुहुन्छ, समस्याबारे लेखेर दिएपछि सभामुखबाट समेत व्यवस्थापन गर्न निर्देशन भएको हो। तर, कहाँबाट रोकिएको छ थाहा छैन,’ उनले भने ।
विषयगत समितिका बैठकमा सांसदहरुले अतिरिक्त भत्ता पाउने भए पनि मर्यादापालकले भने चियासमेत आफ्नै खर्चमा खाने गरेका छन्।
कतिपय मर्यादापालक कोठा भाडामा बस्ने भए पनि संसद सचिवालयमा आफैं मेस सञ्चालन गरी बस्नेहरु २० भन्दा बढी छन्।
महिला मर्यादापालकसमेत रहेको अवस्थामा साँघुरो कोठाभित्र पोशाक परिवर्तन गर्नुपर्ने बाध्यता छ।
यता संसद सचिव दुर्लभ कुमार पुनले भने यो सचिवालयको आन्तरिक विषय भएको भन्दै जवाफ दिनबाट पन्छिन खोजे। ‘यो हाम्रो आन्तरिक कुरा हो हामी मिलाउँछौं मिडियामा कसरी पुग्यो, ‘हाम्रो तर्फबाट मर्यादापालकले भनेजस्तो कुनै समस्या देख्दैनौं तपाईसँग के कुरा गर्नुभयो उहाँहरूलाई नै सोध्नुस्,’ उनले ठाडो जवाफ दिए।
सचिव पुनले सचिवालयको श्रोत साधनले भ्याएसम्म सबैका समस्या हल गर्दै आएको र अब पनि त्यही अनुसार हल गर्दै जाने बताए।
‘श्रोत साधनले भ्याएसम्म सबैलाई सुविधा दिने भन्दै त्यत्रा गाडी किनेका छौं,’ उनले भने, ‘त्यत्रो फर्निचर किनेर घर बनाउँदै छौं, हाम्रो क्षमता अनुसार श्रोत साधन जुटाउँदै सबैका आवश्यकता पुरा गर्दै गएका छौं।’
उनले नीति र नियम भित्र मर्यादापालकको सेवा सुविधा रहेकोसमेत दाबी गरे।