प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद बैठक सुरू भए लगत्तै अवरोध गरेको छ।
कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा सञ्चालित दुई अस्पताललाई सरकारले केन्द्र सरकारको मातहतमा नराखी विघटनको प्रक्रियामा अघि बढाएपछि प्रमुख विपक्षी दलले विरोध गर्दै सोमबारको बैठक अवरूद्ध गरेको थियो।
त्यसपछि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक सभामुख कृष्णबहादुर महराले सुरू गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उभिएर विरोध जनाए।
सभामुखले बस्नको लागि आग्रह गर्दा पनि सांसदहरू रोष्ट्रम घेराउ गरिरहे।
कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका अस्पताल केन्द्र सरकारमातहत चलाउने निर्णय नगर्दासम्म बैठक चल्न नदिने घोषणा गरेको छ।
कांग्रेस सांसदहरूले बैठक चल्न नदिने अडानका साथ सरकार र सभामुखविरूद्ध नाराबाजीसमेत गरे। त्यसपछि सभामुख महराले आजको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
सरकारले चिकित्सा शिक्षा विधेयक बैठकमा पेश गर्न लागेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा विधेयक पेश गर्न लागेका हुन्।
विशेष आर्थिक क्षेत्रलगायत अन्य कार्यसूची आजकै बैठकमा पेश गर्ने कार्यसूची हटाएर चिकित्सा विधेयक मात्रै पेश गर्न लागिएको हो। तर प्रतिपक्ष दल कांग्रेसले भने बैठक चल्न नदिने अडान राखेको छ।