नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान केन्द्रीय समितिलाई म्याद थप गर्ने नैतिक अधिकार नरहेको टिप्पणी गरेका छन्।
विगत निर्वाचनमा सिद्धान्ततः कांग्रेस पार्टीले जिते पनि पार्टी सिद्धान्त अनुरूप नचल्दा जनताबाट पराजित हुनुपरेको उनले बताए।
प्रजातान्त्रिक विचार मञ्च रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेसको नीति, सिद्धान्त, मूल्य मान्यता, आदर्श, संस्कार, संस्कृति र आचरणमा कांग्रेसका नेता कार्यकर्ता नरहेको बताए।
पार्टीको नीति, सिद्धान्त, संस्कार अनुसार नचल्दा संगठन कमजोर हुँदै गएको भन्दै उनले पार्टीको नीति सिद्धान्तमा अडिक रहन नेता कार्यकर्तालाई आग्रह गरे।
हतियार र पैसाको राजनीतिलाई कांग्रेसले विश्वास नगर्ने बताउँदै उनले कांग्रेसले मात्र विधिको शासनलाई पालना गरेको दाबी गरे। उनले कांग्रेसलाई रुपान्तरण गरेर ठीक ठाउँमा लैजानुपर्ने बताए।
नेता पौडेलले सरकार मूल्य मान्यता अनुसार नचलेको भन्दै सरकारको शैली र व्यवहार सर्वसत्तावाद भएको आरोप लगाए।
नेता पौडेलले कम्युनिष्टहरूको सरकारलाई लोकतन्त्रप्रति विश्वास नभएको आरोप लगाए। संवैधानिक आयोगमा विपक्षी दलका नेताको अनुपस्थितिमा नै नियुक्ति र मनोनयन गरेर सरकारले लोकतान्त्रिक मान्यतामाथि प्रहार गरेको उनले बताए।
कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस र नेपालका राजनीतिक पार्टीहरू कमाउ धन्दा गर्नका लागि मात्र बनेको जस्तो देखिएको बताए। दल र दलका कार्यकर्ताहरूमा संस्कारको विकास नभएर लोकतन्त्रको विकास नहुने नेता भण्डारीको भनाइ थियो। भण्डारीले कांग्रेसलाई आचरण, व्यवहार र संस्कारमा रुपान्तरण गर्नुपर्ने बताए।
कांग्रेसका अर्का नेता प्रदीप पौडेलले कांग्रेसको विचारलाई कसैले हराउन नसक्ने बताए। उनले कम्युनिष्टसँग कांग्रेसलाई तुलना गरेर लोकतन्त्र बलियो नहुने बताउँदै नीतिगत रूपमा कांग्रेसलाई सुधार्नुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल लगायतले भनाइ राखेका थिए। रामराज पोखरेलको अध्यक्षता र डिल्लीनारायण पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा प्रजातान्त्रिक विचार समाज रुपन्देहीले प्रकाशन गरेको विचार स्मारिकाकोे विमोचन गरिएको थियो ।