प्रतिनिधिसभाको मंगलबार बैठकमा आफ्नो अवरोधका बाबजुद सभामुख कृष्णबहादुर महराले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उनलाई आसनमै पुग्न रोकेको छ।
सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताविपरीतका प्रावधान थपेर ल्याइएको उक्त विधेयक दुईवटा बैठकबाट पनि पेस गर्न नसकेपछि सभामुख महराले तेस्रो बैठक डाकेका थिए। तर, उनलाई आसनसम्म पुग्न नदिन कांग्रेस सांसदहरूले कार्यकक्षबाहिरै धर्ना दिए। उनीहरूले प्रतिनिधिसभामा सभामुखको आसनसम्म जाने बाटो रोकेका थिए।
‘उहाँहरू मेरो कार्यकक्षबाहिरै धर्ना बस्नुभयो,’ महराले सेतोपाटीसँग भने, ‘मैले आसनसम्म जाने बाटै पाइनँ।’
आसनसम्म जान नपाएपछि १५ मिनेटका लागि स्थगित संसदको दोस्रो बैठक महराले सूचना टाँसेर स्थगित गराएका थिए। ‘आज चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी थियो,’ उनले सेतोपाटीसँग भने, ‘कांग्रेसका कारण हुन सकेन।’
नेपालको संसदीय इतिहासमा सभामुखलाई आसनमै पुग्नबाट रोकिएको यो पहिलोपटक हो। विगतमा संसदभित्र कुर्सी तोडफोड र बजेटको ब्रिफकेस फुटाउनेसम्मका गतिविधि भएका थिए। संविधानसभा अवधिभर नाराबाजी पनि सामान्य थिए। बैठक अवधिमा अनसन बस्नेसम्म भयो। यति हुँदाहुँदै सभामुखले निर्वाध रूपमा बैठक चलाउँदै आएका थिए।
मंगलबार भने सभामुख महरा आफ्नो बैठक सञ्चालन गर्ने कुर्सीसम्मै पुग्न सकेनन्। कांग्रेस सांसदहरूले वेल अघि गएर शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि चिकित्सा शिक्षा विधेयक पेस गर्नबाट रोकेका थिए।
सभामुखलाई घेराबन्दी गरिएकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध जनाएको छ।
‘आज सभामुखलाई समेत घेर्ने काम भयो। यसबाट कांग्रेस अब कुनै मर्यादा मान्दैन भनेर हामीले पहिलोपटक भन्नुपरेको छ,’ नेकपा सांसद खगराज अधिकारीले भने, ‘बैठकमा आउन नदिएकाले हामीसँग सल्लाह नगरी कांग्रेसकै कारण सभामुखले बैठक स्थगित गर्नुभयो।’
मंगलबार दुईपटक बसेको बैठकमै सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउने कोशिस गरेको थियो। कांग्रेसको अवरोध र धर्नापछि संसद बैठक सूचनामार्फत् आउँदो ११ गते सम्मका लागि स्थगित गरिएको छ।
यो पनि हेर्नुहोस्: