सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन्।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने दाबी गरे।
‘माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं। पास हुन्छ। मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ। किनभने त्यसको नजिर चाहिँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाईसक्नुभएको छ,’ उनले भने।
उनले संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विधेयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे।
‘नेपाली कांग्रेसका साथीहरूलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु। उहाँले स्थानीय तहसम्बन्धी विधेयक पास गर्दा तत्कालीन् नेकपा एमालेले संसद अवरोध गर्यो। मन्त्रीले रोष्ट्रममा गएर त्यो विधेयक प्रस्तुत गर्न सक्नुभएन। तर, सभामुख पौडेलले तपाई जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विधेयक प्रस्तुत गर्नुस् भनेर मन्त्रीलाई भन्नुभयो। सामान्यतयः मन्त्रीले रोष्ट्रममा गएर विधेयक प्रस्तुत गर्ने चलन हुन्छ। र, पौडेलजीले त्यतिबेला मन्त्रीलाई बसेकै ठाउँबाट विधेयक टेबुल गर्न लगाउनुभयो। र, पास गर्नुभयो। म नेपाली कांग्रेसका साथीहरूलाई त्यो कुरा पनि हेर्न भन्छु।’
उनले अगाडि भने,‘त्यतिबेला विधेयक पास भैहाल्यो। हामीले विरोध गर्यौं। नेपाली कांग्रेसले ज्यादती गर्यो भन्यौं। अब अहिले पनि नेपाली कांग्रेससँग त्यो अधिकार छ। कम्युनिष्ट पार्टीले ज्यादती गर्यो भन्नुहोस्, तर विधेयक पारित गर्ने कुरालाई रोक्न पाइँदैन।’
विधेयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विधेयक लिएर पढाउन जान पनि कांग्रेसलाई उनले सुझाव दिए।
उनले थपे,‘यो विधेयक प्रतिगामी छ, माफियमुखी छ भनेर के–के पढाउनुपर्छ ? आफूले पढाउन सकिएन भने गोविन्द केसीलाई सँगसँगै कांग्रेसको मञ्चमा लगेर पढाए भयो। हाम्रो विरूद्धमा जनमत बनाए भैहाल्यो नि। त्यो हो नि त लोकतान्त्रिक विधि र प्रक्रिया भनेको। त्यसकारण देश र संसदलाई अवरूद्ध गर्ने कुरा यो विषयमा राम्रो हुँदैन्। किनकी यसमा त नेपाली कांग्रेस प्रक्रियामा भाग लिँदै आइसक्यो। आज अन्तिम अवस्थामा मात्रै उहाँहरू रोक्न खोज्दै हुनुहुन्छ। विधेयक संसदमा प्रस्तुत हुँदा विरोधको सूचना दिनुभयो। भाग लिनुभयो। विधेयक समितिमा आयो, दफावर छलफलमा भाग लिनुभयो। समितिमा पनि भोटिङ भयो। त्यहाँ पनि भाग लिनुभयो। चार जना साथीले फरक मत लेख्नुभयो। फेरि समितिको प्रतिवेदन सभापतिमार्फत संसदमा टेबुल भयो। त्यहाँ पनि भाग लिनुभयो। अब निर्णयार्थ प्रस्तुत गर्ने बेलामा भाग लिन्न भन्नु, यी अगाडि सबैमा भाग लिएका कुरामा के हुन्छ ?’
संसद आफ्नो पार्टीको लागि आत्मा हो, पर्यावाची हो भन्ने कांग्रेसजस्तो पार्टीले संसदलाई यसरी खिल्ली उडाउन नहुने उनको भनाइ छ।
उनले भने,‘व्यवस्थाप्रतिको जनताको विश्वास गुम्न सक्छ। त्यो डगमगाउन सक्छ। ०१७ सालमा त्यस्तै भएको थियो। नेपाली कांग्रेसका साथीहरूलाई यो विधेयक मन परेको छैन भने तपाईंहरू मतदानको माग गर्नुहोस्। आफ्नो विपक्षमा मत हाल्नुहोस्। ती सबै अधिकारहरू छन् नि, त्यसलाई प्रयोग गर्नुहोस्। ती अधिकारलाई प्रयोग नगरी संसदलाई बन्धक बनाउने कुरा राम्रो होइन।’
भट्टराईले आजको दिनमा अनसनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए।
उनले भने,‘डाक्टर केसी गलत हुनुहुन्छ। अब उहाँ पछि हट्नुको विकल्प छैन्। किनभने उहाँले उठाउनुभएको सबै माग विधेयकमा समावेश भैसकेका छन्। उहाँले उठाउँदै आएका मुद्दा पनि यसमा आएका छन्। अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरू, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु। पख तिमीहरूलाई भन्नुभएको छ। त्यो हो भने बेग्लै कुरा हो।’
अस्ति सोमबार संसदमा कांग्रेस उपसभापति एवम् संसदीय दलको उपनेता विजयकुमार गच्छदारले बोलेको कुराप्रति टिप्पणी गर्दै भट्टराईले भने,‘यो कुरा हामी कांग्रेससँग कुनै दिन सोधौंला, उहाँले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भन्नुभयो–हिजो माओवादी लडाकुहरू नेपाली सेनामा समायोजन भएका छन्, यसलाई फिर्ता लैजाउ भन्नुभयो। यो निकै गम्भीर कुरा हो। त्यो अचानक उहाँको मुखबाट फुत्किएको हो भने त्यहीअनुसारको छलफल गरौंला। र, साँच्चै सोची विचार गरी भन्नुभएको हो भने निकै गम्भीर कुरा हो। माओवादी सेनामात्रै होइन, कुनै पनि सेना ब्यारेकबाट निस्किएर जाँदा खाली हात खुट्टा जाँदैन्, त्यसले काँधमा अरु केही बोकेर जान्छ। त्यो अरु केही बोकेर पनि जाउन भनेर गच्छदारजीले धम्की दिएको हो भने यो १२ बुँदे समझदारीदेखि आजसम्म हामी आयौं, संविधान बनायौं, आयोग बनेका छन्। काम गरिरहेका छन्। भनेपछि यी सबै प्रक्रिया गलत हुन भने कांग्रेसले भन्नुपर्यो हामी अब कोर्स बदल्न चाहन्छौं। गिरिजाबाबुले झुक्किएर, नजानेर ठूलो धोका दिनुभयो। अब त्यो धोकाबाट हामी नेपाललाई बचाउँछौं भन्नुपर्यो। होईन भने कुरा चाहिँ गम्भीर छ।’
उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको सञ्चालनको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिनेपनि विश्वास दिलाए। उनले भने,‘यी दुवै अस्पतालको सञ्चालनको सम्पूर्ण जिम्मा सरकारले लिन्छ। त्यसमा बजेटको व्यवस्थापन गर्ने, व्यवस्थापन समिति बनाउनेदेखि लिएर अरु जे–जे गर्नुपर्छ हामी गर्छौं।’
आफूहरु नेपाली कांग्रेसजस्तो नभएको उल्लेख गर्दै भट्टराईले सम्मानित नेताहरुको संस्थाप्रति कुनै वैरभाव नरहेको स्पष्ट पारे। उनले भने,‘हामी कांग्रेसजस्तो होईनौं। मनमोहनको नाममा एउटा अस्पताल र कलेज चलाउँछौं भन्दा हामीलाई डण्डा लगाएर लखेट्नुभयो। हामी त्यस्तो होईन। गिरिजाबाबु हाम्रो नेता हो। सुशिलजी हाम्रो नेता हो। किनभने हामी सँगै लडेका हौं। विपी हाम्रो नेता हो। किसुनजी र गणेशमानजी त झन हाम्रो नेता हो। कांग्रेसको त हुँदैहोईन। किनभने जिउँदो हुँदै उहाँहरुले कांग्रेस छोडिसक्नुभएको थियो। चार तारे झण्डा त्यागिसक्नुभएको थियो। उहाँहरुजस्तो सम्मानित नेताको संस्थाप्रति हाम्रो कुनैपनि वैरभाव छैन्। त्यो कुरा प्रधानमन्त्रीले संसदमा प्रष्टसँग भनिसक्नुभएको छ। यसमा कोहीपनि भ्रममा नपरे हुन्छ।’
कांग्रेसले संसद अवरोध गरेपनि, नगरेपनि र कांग्रेसले भनेपनि नभनेपनि गिरिजा र सुशिल कोइरालाका नामका अस्पतालहरु चल्ने उनले जिकिर गरे। यद्धपी उनले त्यहाँभित्र विकृति र विसंगतिहरु छन् भने सरकारले छानबिन गर्नेपनि स्पष्ट पारे। उनले भने,‘सुशिल कोइराला र गिरिजाबाबुको नाममा के–के हडप्न खोजिएको छ, त्यो हडप्न चाहीँ हामी दिँदैनौं। त्यो सार्वजनिक सम्पत्तिको रुपमा रहनुपर्छ। ती अस्पतालहरु चल्छन्।’