प्रदेश ५ सरकारले प्रदेशसभामा पेश गरेको प्रसारण विधेयक फिर्ता गर्न पत्रकारहरूले माग गरेका छन्।
सरकारले पेश गरेको विधेयकमा भाषिक त्रूटी अस्पष्ट र सञ्चार क्षेत्रलाई संकुचित गर्ने प्रकृतिको भएको भन्दै फिर्ता गरेर सच्याउन उनीहरूले माग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ को संयोजनकत्वमा गएको पत्रकारहरूको टोलीले प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीलाई भेटी छलफलको पर्याप्त व्यवस्था मिलाउन माग गरेका हुन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रदेश सभामा पेश गरिएको विधेयकमा सरोकारवालाहरूसँग समेत पर्याप्त छलफल नगरिएको तथा छलफलमा सहभागीहरूबाट दिएका सुझावहरू नसमेटिएको भन्दै छलफलका लागि व्यवस्था मिलाउन आग्रह गरे।
चापागाईंले सरकारले पेश गरेको विधेयकले सञ्चारगृह र सञ्चारकर्मीहरूप्रति अनुदार देखिएको र स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने प्रकृतिको भएको भन्दै संशोधन जरूरी रहेको बताए।
सो अवसरमा सभामुख पूर्ण बहादुर घर्तीले पत्रकारहरूको चासोमा आफू संवेदनशील रहेको बताउँदै आफू विधि र प्रक्रिया सम्वत ढंगले सुधारको पक्षमा रहेको बताए।
उनले विषयगत समितिमा छलफलबाट टुंगो लाग्न सक्ने भए सोही समितिबाट टुंग्याउन सकिने अन्यथा सरकारले नै फिर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेको जानकारी दिए ।
त्यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश नं ५ ले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रसारण विधेयक र ल्याउन लागेको छापाखाना तथा प्रकाशन विधेयकको अध्ययन गरी सुझाव पेश गर्न मोहन चापागाईं तथा डिआर घिमिरेको संयोजकत्वमा २ वटा छुट्टाछुट्टै समिति गठन गरेको छ ।