नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पार्टी कार्यालय सानेपा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई नेविसंघले घेराउ गरेका छन्।
पार्टीले नेविसंघलाई अनिर्णयको वन्दी बनाएको र म्याद सकिए पनि कामचलाउ हैसियतमा नैनसिंह महर नेतृत्वको नेविसंघलाई निरन्तरता दिएको विरोधमा नेविसंघले नाराबाजी गर्दै देउवालाई घेराउ गरेका हुन्।
नेविसंघका नेता दीपक भट्टराईले १२ औं महाधिवेशन गर्न नसक्ने महर नेतृत्वको नेविसंघको म्याद थप नगर्न माग गर्दै पार्टी कार्यालयमा घेराउ गरिएको हो।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुपूर्व नेविसंघका असन्तुष्ट समूहले पार्टी कार्यालयमा नाराबाजी गरेका हुन्। बिहीबार दिउँसो २ घण्टासम्म नेविसंघले कांग्रेस कार्यालय घेराउ गरेको हो।
‘महाधिवेशन गराउन नसक्ने, जिल्ला अधिवेशन र क्याम्पस अधिवेशन गराउन नसक्ने असक्षम नेतृत्व खारेज गर्नुपर्छ,’ सभापति देउवासँग नेविसंघले माग गरे, ‘महाधिवेशन र स्ववियु चुनावमा जित्ने गरी संगठनलाई परिचालन गर्न तदर्थ समिति बनाऔं।’
देउवा पार्टी कार्यालय परिसरमा प्रवेश गर्दा नेविसंघले असक्षम नेतृत्व खारेज गर भन्दै नारावाजी गरे पनि देउवाले कुनै प्रतिक्रिया दिएनन्।
‘सभापतिलाई नेविसंघको अहिलेको कार्यसमितिको म्याद थप गर्न हुन्न भनेर हामीले माग राख्यौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘सभापति ज्यूले टाउको हल्लाउनुभयो। कुनै प्रतिक्रिया दिनुभएन।’
महरको नेतृत्वमा रहेको १६५ सदस्यीय नेविसंघमध्ये ५० जनाभन्दा बढीले राजिनामा दिइसकेका छन्। दुई पटक आफैंले तय गरेको महाधिवेशनको कार्यतालिका अनुसार नेतृत्व अघि नबढेको भन्दै उनीहरुले राजीनामा दिएका थिए।
अहिले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ। पार्टीका पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामबाट तनहुँ र बाँकेमा खुलेका अस्पताल सरकारले संघमार्फत नराखी विघटन गर्न खोजेको, नेविसंघको म्याद थप गर्ने/नगर्नेलगायत विषयमा बैठकमा छलफल हुँदैछ।
कांग्रेसले आफ्ना पूर्वसभापतिहरुको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्न लागेको विरोधमा संसद अवरुद्ध गर्दै आएको छ।
संसद बैठक शुक्रवारका लागि डाकिएको छ। केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय आएका उपसभापति विजयकुमार गच्छदारले गिरिजा र सुशीलका नाममा खुलेका अस्पताल संघमार्फत राख्ने निर्णय नभएसम्म संसद चल्न नदिने बताए।