सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डाक्टर गोविन्द केसीले हावामा तरबार चलाउन खोजेको आरोप लगाएका छन्।
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयक डाक्टर केसीसँग भएका सम्झौताभन्दा एक कदम अघि बढेर आएको दाबी गरे।
विधेयकको फेहरिस्त सुनाउँदै उनले यसबारे संसदमा छलफल हुन नदिने तर हावामा तरबार चलाउने कुरो मान्य नहुने बताए।
‘कहिले अपिल गरिररहेका छन्, कहिले पत्र लेखिरहेका छन्,’ डाक्टर केसीले सांसदहरूलाई मंगलबार गरेको अपिल र बिहीबार लेखेको पत्रतर्फ इंगित गर्दै मन्त्री बाँस्कोटले भने, ‘सरकारले प्रस्तुत गरेको विधेयक समितिबाट पास भएर आएको छ। यो अब प्रक्रियाबाट पास हुन्छ। हुनुपर्छ।’
मिडियाले विधेयकमा भएका राम्रा कुरा प्रचारप्रसार नगरेर एकहोरा केसीका पक्षमा समाचार पेस गरेको उनले आरोप लगाए।
‘विधेयकमा भएका राम्रा कुराबारे कहीँ कतै समाचार आउँदैन। म अनुरोध गर्छु, मिल्छ भने यी बुँदा पनि समाचारमा लेखिदिनुस्,’ बाँस्कोटाले भने, ‘राम्रा कुरा बाहिर नल्याउने, तर हावामा तरबार चलाउन खोज्ने कुरा मान्य हुन्न। अधिनायकवाद भने भन्नुस्, दुईतिहाइको दम्भ भने भन्नुस्। विधेयक पारित हुन्छ। सरकारको रणनीति त्यही हो।’
उनले विधेयकमा भएको व्यवस्था विद्यार्थी र जनतामुखी भएको दाबी गर्दै अस्पतालमा धर्ना र आन्दोलन गरेर कानुन नबन्ने बताए।
‘मेडिकल शिक्षाको कुरा हो भने डाक्टर केसीका माग पूरा भइसके। त्यसका लागि उहाँले अनसन बस्नु आवश्यक छैन। उहाँले राखेका मागको निशाना अन्तै छ,’ बाँस्कोटाले भने।
उनले विधेयक संसदमा प्रस्तुत गर्न नदिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरलोकतान्त्रिक चरित्र देखाएको पनि आरोप लगाए।
‘विधेयक पेस गर्न नदिने, वेल घेराउ गर्ने अनि सभामुखलाई घेर्ने यो कस्तो लोकतन्त्र हो?’ बाँस्कोटाले भने, ‘लोकतन्त्रमा प्रक्रिया हुन्छ, प्रक्रियाअनुसार छलफल हुन्छ। विधेयकबारे संसदमा छलफल हुनुपर्छ।’