डा. गोविन्द केसीले संसदीय सर्वोच्चता स्वीकार्दै आफूसँग भएको सम्झौता 'जस्ताको तस्तै लागू हुनुपर्छ' भन्ने हठ त्याग्नुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्।
‘डाक्टर केसीसँगको सहमतिअनुसारै चिकित्सा शिक्षा विधेयक ल्याउन खोजिएको हो। कतिपय कुरा संसदले मान्ने/नमान्ने विषयलाई उहाँले सकारात्मक रूपमा लिनुपर्छ, जस्ताको तस्तै भन्न मिल्दैन,’ मन्त्री पोखरेलले बिहीबार सेतोपाटीसँग भने, ‘संसदको पद्धति मान्नु उहाँको दायित्व हो। विधेयक पास गरौं, अन्य विषयका लागि वार्ता गर्न सरकारले सकारात्मक भूमिका खेल्छ।’
सरकारले आफूसँग गरेका सम्झौताविपरीतका प्रावधान घुसाएर विधेयक पारित गर्न खोजेको भन्दै डा. केसी १६ औं अनसनमा छन्। बिहीबार अनसनको १६ औं दिन हो।
शिक्षामन्त्री पोखरेलले मंगलबार उक्त विधेयक संसद प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको थियो। संसदको आगामी बैठक शुक्रबार १ बजे डाकिएको छ। शुक्रबार बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदबाट ‘ब्याक’ हुन नसक्ने बताए। ‘हामी प्रजातान्त्रिक ढंगले चुनियौं। कानुनी शासन मान्छौं, गुणस्तरीय शिक्षाको मापदण्डमा अघि बढौं,’ उनले भने, ‘संसदमा टेबल गरिसकेपछि संसदको पद्धति, मान्यता र संसदीय सर्वोच्चताको कुरा आउँछ, त्यसबाट हामी पछि हट्न सक्दैनौं। विधेयक अघि बढ्छ।’
काठमाडौं उपत्यकामा पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नमिल्ने भन्ने विषय कानुनले नरोकेको मन्त्री पोखरेलले दाबी गरे।
‘गुणात्मक शिक्षाको दृष्टिले विश्वविद्यालयको क्षमता बढाउनुपर्छ। त्यसमा हामीलाई केही समय लाग्छ,’ उनले भने, ‘काठमाडौंभित्र नखोल्ने विषय विधेयकले मानेको छ। बाहिरको सन्दर्भमा बैंकबाट ऋण लिएर पूर्वाधार पूरा गरेका मेडिकल कलेजलाई ऐनबाटै सम्बन्धनको व्यवस्था होस् भनिएको छ, त्यसमा थोरै फरक परेको मात्र हो।’
काठमाडौंबाहिर सम्बन्धन ताकेर बसेको झापाको बिएन्डसी मेडिकल कलेज हो। बिएन्डसी नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल निकट व्यवसायी दुर्गा प्रसाईंको हो।
मन्त्री पोखरेलले केसीसँग वार्ता र सहमति हुने तर चिकित्सा शिक्षा विधेयकमा रहेको अडान त्याग्नुपर्ने संकेत गरे।
‘विधेयक संसदमा गएर टेबुल भइसकेको अवस्थामा सरकार संसदको गरिमालाई आँच पुर्याउँदैन। एक जना व्यक्ति अनसन बस्दैमा जनप्रतिनिधिमूलक संस्थाको गरिमा बिर्सन सकिँदैन, अहिले उहाँले सैद्धान्तिक कुरा भन्दा व्यावहारिक कुरामा जानुपर्छ,’ उनले भने।
अनसनको १६ औं दिन पुग्दा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। पन्ध्रौं सत्याग्रहमा भएको सम्झौता अक्षरशः कार्यान्वयनसहित विधेयक पारित हुनुपर्ने मागमा केसी अडिग छन्।