कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको अवस्था सुधार गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन्।
सुर्खेतको चौकुने गाउँपालिका–६ मा रहेको जीवन ज्योति माविको भवन शिलान्यास गर्ने क्रममा मुख्यमन्त्री शाहीले मुलुकमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था नबदलिएकाले यसमा सबै सरकार गम्भीर भएर लाग्नुपर्ने औंल्याए।
ठूलो भूगोल ओगटेको कर्णाली प्रदेशको विकासलाई सन्तुलित गर्ने प्रमुख उद्देश्यले यही माघ १४ र १५ गते प्रदेश सरकारले प्रदेश समन्वय परिषद्को पहिलो बैठकको आयोजना गरेको बताउँदै उनले बैठकबाट यो प्रदेशको विकासको वास्तविक चित्र कोरिने विश्वास व्यक्त गरे।
बैठकका क्रममा सरकारले प्रदेशको समग्र विकासको गुरुयोजना तयार पार्ने बताए।
प्रदेश सरकार नयाँ भएकाले जनताका अपेक्षा एकै वर्षमा पूरा गर्न नसकिने भन्दै उनले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा मात्र विकास र समृद्धि सम्भव रहेको बताए।
भाषण गरेर, बोलेर, आलोचना र टिकाटिप्पणी गरेर देश नबन्ने भन्दै उनले इमानदारिता, हिम्मत र श्रममा बाँच्न नागरिकलाई सुझाव दिए।
विद्युत माग गर्दै मागपत्र
विद्यालयको भवन शिलान्यासका लागि सुर्खेतको पश्चिम पुगेको मुख्यमन्त्री शाहीले पश्चिमका बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका नागरिकहरूले सडकको स्तरोन्नति र केन्द्रीय विद्युत प्रसारण लाइनको लागि मागपत्र बुझाएका थिए।
मागपत्र बुझ्ने क्रममा मुख्यमन्त्री शाहीले बड्डीचौर–गुटु–बेनीघाटसम्मको सडकको स्तरोन्नति र केन्द्रीय विद्युत प्रसारण लाइन जडानका लागि पहल गर्ने प्रतिवद्धता जनाए।
विद्यापुर, बाबियाचौर, पलैटेलगायतका ठाउँमा मुख्यमन्त्री शाहीले स्थानीय जनप्रतिनिधि, कार्यकतासँग पनि भेटघाट गरेका थिए।