मर्यादापालकको अव्यवस्थित बसाईबारे समाचार सार्वजनिक भएपछि पाँच नम्बर प्रदेशको प्रदेशसभाले २ जना मर्यदापालकलाई सूचना दिएको भन्दै फिर्ता पठाएको छ।
मिडियामा सूचना दिएको भन्दै प्रदेश ५ प्रदेशसभा सचिवालयमा कार्यरत दुई जना मर्यादापालक प्रहरी नायव निरीक्षक प्रकाश मल्ल र प्रहरी हवल्दार यज्ञ बहादुर खत्रीललाई फिर्ता बोलाएको हो। प्रदेशसभा स्थापना सँगै प्रदेशसभा सचिवालयको सुरक्षार्थ नेपाल प्रहरीबाट ४३ जनालाई मर्यादापालकको रुपमा खटाईएको थियो।
प्रदेशसभा गठन भएको एक वर्षसम्म पनि मर्यादापालकलाई कार्यालय र पोशाक परिवर्तन गर्ने कोठासमेत नहुँदा उनीहरूको बसाई अव्यवस्थित बनेको भन्दै माघ ७ गते समाचार सार्वजनिक भएका थियो।
प्रदेशसभामा समाचार संकलनको लागि पुगेका पत्रकारहरुले मर्यादापालकको अव्यवस्थित कोठा देखेपछि प्रतिकृया लिएका केही मर्यादापालकले प्रदेश सचिव दुर्लभ कुमार पुनले हप्काएका थिए।
समाचार प्रसारण तथा प्रकाशन भएपछि सभामुख पूर्णबहादुर घर्तीको अध्यक्षतामा उपसभामुख कृष्णी थारूसहित बैठक बसेको थियो।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीकोसमेत विशेष उपस्थिति रहेको उक्त बैठकमा प्रदेशसभा सचिवालयमा कार्यरत निजामति सेवा तर्फका कर्मचारी सहभागी थिए भने समस्या भोग्दै आएका मर्यादापालकहरुको नेतृत्वसमेत सहभागी गराईएको थिएन।
कम्प्युटर अधिकृत सम्मलाई सहभागि गराईएको बैठकमा सोही सरहका मर्यादापालकको नेतृत्व गरी रहेका प्रहरी निरीक्षकलाई भने सहभागि गराईएन। तर, समाचार प्रशारण भएको तीन दिन मै दुई जना मर्यादापालकलाई सचिवालयबाट दंगा नियन्त्रण गण बुटवल औद्योगिक क्षेत्र पठाईएको हो।
स्रोतका अनुसार विवादबाट बच्न सचिवालयले उनीहरूलाई दंगा नियन्त्रण गणबाट पत्र मगाएर फिर्ता पठाएको देखिन्छ। गणमा तानिएका दुवै जनाको दरवन्दी भने गणमा होईन।
कारबाही स्वरूप गण फिर्ता पठाईएका मध्ये प्रहरी नायव निरीक्षक प्रकाश मल्लको दरबन्दी पुनरावेदन अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई न्यायाधीश सुरक्षा गार्ड बुटवल हो भने अर्का प्रहरी हवल्दार यज्ञ बहादुर खत्रीको प्रहरी चौकी चनौली बगाह हो।
तर, उनीहरूलाई पुरानै दरबन्दी रहेको स्थानमा नभई सभामुख र संसद सचिवालयका सचिवको निर्देशनमा कारवाही स्वरुप गणमा पठाईएको स्रोतले बताएको छ।
प्रदेशसभा सुरक्षार्थ एकैपटक खटिएका ४३ जनामध्ये संचारमाध्यममा प्रतिकृया दिएका दुई जनालाई मात्र फिर्ता बोलाईनुले पनि श्रोतको दाबीलाई पुष्टि गरेको छ।
यता दंगा नियन्त्रण गण बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिलीप सिंह देउजा भने कारवाही स्वरुप फिर्ता बोलाईएको नभई नियमित प्रकृया अनुरूप परिवर्तन गरिएको दाबी गरे। ‘समाचारलाई आधार मानेर प्रदेशसभा सचिवालयले कारबाही गरेको होईन प्रहरीको आफ्नो नियमित तालिका अनुरुप परिवर्तन गरिएको हो,’ उनले सेतोपाटीसँग भने।
समाचार प्रशारण भएपछि मर्यादापालकका समस्याका विषयमा बैठक डाकेको भनिए पनि बैठकको प्रस्तावको अन्तिम नम्बरमा मर्यादापालकको एजेण्डा राखिएको थियो। तर, सोही प्रस्तावबाटै मर्यादापालकको व्यवस्थापन भन्दा पनि कारबाहीको डण्डा चलाएको प्रदेशसभा सचिवालयले आफ्नो सेवा सुबिधा भने बढाएको छ ।
मर्यादापालकको ब्यवस्थापन गर्ने भनेर आयोजना गरिएको बैठकको सवैभन्दा महत्वपूर्ण प्रस्तावको रुपमा सचिवालयका कर्मचारीहरुको सेवा सुबिधा र भत्तालाई ध्यान दिईएको छ।
बैठकको ४ नं प्रस्तावमा कर्मचारीहरुको सेवा सुविधालाई राख्दै प्रदेशसभा बैठकको भत्ता, कर्मचारीहरुको खाजाभत्ता बिशेष समितीको बैठक भत्ता र सञ्चार सुबिधालाई महत्व दिईएको छ।
मर्यादापालकलाई कारबाही गरिएको सम्बन्धमा संसद सचिवालयले भने औपचारिक जवाफ दिएको छैन। दिउँसो प्रतिकृया लिन सचिवालय पुगेका पत्रकारहरुलाई पाँच मिनेट भन्दै एक घण्टासम्म पर्खाए पनि सचिव पुनले भेट्न आलटाल गरे।
गाडी खरिद प्रकरणमा अनियमितताको समाचार प्रकाशित पछि पत्रकारसँग रूष्ट प्रदेससभा सचिव पुनलाई यसबारे प्रतिक्रया माग्दा सम्पर्कमै आउन चाहेनन्।