नेपाल र भारतबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैकिङ’ स्थापना गर्ने सहमति भएको छ।
वर्षायाममा नेपालको बिजुली भारतलाई दिने र हिउँदमा भारतको नेपाल ल्याउन सहमतिमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिर र भारतका तर्फबाट ऊर्जा सचिव अजय भल्लाले हस्ताक्षर गरेका छन्।
पोखरामा बुधबारदेखि सुरू भएको दुबै देशको ऊर्जा बैठकको प्रमुख एजेन्डाको रूपमा रहेको इनर्जी बैकिङमा सहमति जुटेको नेपाली पक्षको नेतृत्व गरेका सचिव घिमिरले जानकारी दिए।
पुस दोस्रो साता नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार गरेको इनर्जी बैकिङसम्बन्धी प्रस्तावलाई पोखरामा भएको सचिव स्तरीय बैठकले अनुमोदन गरेको घिमिरले बताए।
बैठकले अनुमोदन गरेपछि निर्माण सम्पन्न भई चालू रहेको ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट इनर्जी बैकिङ आरम्भ हुने उनले बताए।
भारतले टनकपुरमा तत्काल ५० एमभिए क्षमताको ट्रान्सफर्मर राखी नेपाललाई ८० मेगावाटसम्म बिजुली उपलब्ध गराउन सहमति पनि बैठकमा भएको छ।
अहिले टनकपुरबाट ३० देखि ३५ मेगावाटमात्र बिजुली आइरहेको छ।
त्यसै गरी रक्सौल-परवानीपुर र कटैया-कुसाहा १३२ केभी प्रसारण लाइनको क्षमता विस्तार गरिदिन भारतले सहमति जनाएको उनले बताए।
भारतले नौतनवा खण्डमा भारततर्फ पाँच सय मिटर भूभागभित्र नेपाललाई प्रसारण लाइन विस्तार तथा मर्मत गर्न अनुमति दिएको छ। औद्योगिक क्षेत्र भैरहवाको उक्त १३२ केभी प्रसारण लाइनको क्षमता विस्तारले थप लोड व्यवस्थापन गर्न सजिलो हुने सचिव घिमिरेले बताए।
त्यसैगरी नेपालले माग गर्दै आएको कोहलपुर-नानपारा १३२ किलोमिटर प्रसारण लाइन भारतीय अनुदानमा निर्माण गरिदिन पनि भारत सहमत भएको छ। दुबै मुलुकमा २५-२५ किलोमिटर खण्ड पर्ने यस प्रसारण लाइन कटैया-कुसाहामा जस्तै भारतीय अनुदानमा निर्माण गर्न नेपालले प्रस्ताव गरेको थियो। पोखराको होटल ग्रान्डमा भएको बैठकमा संयुक्त स्थायी समिति (जेएससी) को छैठौं बैठक हो।