नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा विधि र प्रक्रियामा नहिँडेको बताएका छन्।
प्रेस संगठन नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी विधानमा जे व्यवस्था गरिएको छ त्यस अनुसार पार्टी चल्न नसकेको बताए।
उनले पार्टीले एक व्यक्ति, एक प्रमुख कार्यकारी पदको व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको बताए।
नेता नेपालले पार्टीको तल्लातहसम्मको एकीकरण प्रक्रियामा ढिलाइ हुँदा पार्टीलाई नोक्सान पुगेको बताए।
उनले पुस महिनाभित्र जनवर्गीय संगठन र जिल्ला तहको एकता गरिसक्ने योजना भए पनि पूरा हुन नसकेको भन्दै निश्चित मापदण्ड, विधि र प्रक्रिया अनुसार एकता गर्नुपर्ने बताए।
उनले चिकित्सा शिक्षा विधेयक विधि, सहमति र समझदारी अनुसार नै ल्याएको बताए।
नेकपाका पार्टी सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा विधेयक पारित भएसँगै चिकित्सा क्षेत्रमा गुणस्तर सुधारको अभियान सुरू भएको बताए।
उनले अनसनरत डा.गोविन्द केसीले राजनीतिक विषय नजोडिकन शिक्षा विधेयकको कार्यान्वयनमा लाग्नुपर्ने बताए।
उनले डा. केसीले अनसन छाडेर शिक्षा विधेयकको कार्यान्वयनको नेतृत्व लिन सुझाव दिए। उनले केसीसँग भएको सबै सम्झौताको पालना भएको दाबी गरे।