सरकारले स्वास्थ्य शिक्षा विधेयक जबर्जस्ती पारित गरेको विरोधमा नेपाल तरुण दलले शनिबार बुटवलमा खबरदारी सभा गर्यो। प्रदेशस्तरीय विरोध प्रदर्शन तथा खबरदारी सभामा तरुण युवाहरूको उल्लेख्य सहभागिता थियो।
बुटवलको राजमार्ग चौराहमा गरिएको विरोध सभामा बोल्ने तरुण नेताहरूले दुई तिहाइको दम्भमा संविधान कुल्चने र कम्युनिष्ट शासन स्थापित गर्ने दाउमा सरकार उद्धत रहेको आरोप लगाए।
खबरदारी सभामा बोल्दै नेताहरूले राज्यबाटै अपराधीलाई संरक्षण गरिँदा हत्या हिंसा, बलात्कारका घटना बढ्नुका साथै सुशासन कायम गर्न नसकेको टिप्पणी गरे। तरुण दलका केन्द्रिय र प्रदेशका नेताहरूले अधिनायकवाद र सर्वसत्तावाद चरित्रलाई नसच्याए तरुण युवाहरूले सडकबाटै सरकार ढालिदिने चेतावनी समेत दिए।
तरुणका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले सरकारका गलत निर्णयविरूद्ध तरुण युवाहरू तयारीका साथ सडकमा ओर्लिएको बताए।
‘हामीले राणा र राजा फालिम, ३० वर्षे पञ्चायत फालिम, अब अन्तिम पटक कम्युनिष्टसँगको लडाइँका लागि तयारीका साथ आउँदैछौं,’ अध्यक्ष बस्नेतले भने।
उनले जनताको अहितमा रहेको विधेयक जबर्जस्ती पास गरेर सरकारले संसदीय व्यवस्थालाई ठाडो चुनौती दिएको आरोप लगाए।
अध्यक्ष बस्नेतले सुशील कोइराला क्यान्सर अस्पताल र जिपी कोइराला श्वासप्रश्वास केन्द्रबारे सरकारले गरेको निर्णय नसच्चिए त्यसको परिणाम घातक हुने चेतावनी समेत दिए।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकार माफियाहरूको चंगुलमा फसिसकेको र सदनलाई समेत त्यही बाटोमा डोर्याउने खेल चलिरहेको दाबी गरे। तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम कुमार चापागाईंले सरकारले दुई तिहाइको बहुमतलाई भ्रष्टाचार गर्ने लाइसेन्सको रूपमा प्रयोग गरिरहेको आरोप लगाए।
कार्यक्रममा तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङ, रुपन्देही अध्यक्ष सोम गुरुङ, कपिलवस्तु सभापति सत्यसिंह ठकुरी, गुल्मी सभापति भरत बलामी लगायतले बोल्दै जनतालाई समृद्धिको सपना देखाएको सरकारले विकास, शुशासन र शान्तिसुरक्षा कायम गर्न नसकेको बताए।